कटारीबाट ठुलो परिमाणमा चिरान काठ बरामद
Published:
by .उदयपुर । डिभिजन वन कार्यालय त्रिवेणीको अनुमति नलिई स्थानीय सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलमा ४८ वटा सखुवाका रुख काटेको पत्ता लागिरहेकै बेला कटारीमै अर्को ठाउँमा शुक्रबार ठुलो परिमाणको चिरान काठ बरामद भएको छ।
प्रहरीले कटारी नगरपालिका ४ जहडीस्थित चुनढुंगा डम्पिङसाईट नजिकै रहेको गाडी ग्यारेजबाट अवैध रुपमा लुकाइराखेको चिरान काठ बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार अवैध काठ लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीको टोलीले छापा मार्दा २ सय ११.९९ क्युबिक फिट काठ बरामद भएको हो।
प्रहरी कार्यालयका सूचना अधिकारी मोहन थापाका अनुसार बरामद काठमा सल्ला जातको कडी (बटम) १ सय ९१ थान, कर्मा जातको पटाहा ८६ थान र साज जातको पटाहा २ सय ३७ थान बरामद भएको छ। सल्लाको कडी १ सय ३१.२४ क्युविक फिट, कर्माको पटाहा २१.५० क्युविक फिट र साजको पटाहा ५९.२५ क्युविक फिट परिमाणको काठ बरामद भएको छ।
डिभिजन वन कार्यालय त्रिवेणीले प्रहरीले काठ बरामद गरेर जिम्मा दिएको पुष्टि गरेको छ। कसले किन कुन उद्देश्यले त्यहाँ काठ राखेको भन्ने केही नखुलेको डिभिजन सहायक वन अधिकृत भोगेन्द्र मण्डलले बताए। घट्नाबारे प्रहरी र डिभिजन वन कार्यालयले छुट्टाछुट्टै र संयुक्त रुपमा अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने मण्डलले बताए।
Comments