उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदस्थापन
Published:
by .विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् ।
महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतलाई सपथ गराएपछि ढकालले राउतलाई पद हस्तान्तरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अध्यक्ष टिकाराज ढकालले आफ्नो कार्यकालमा भएका प्रगतिसहितको अन्तिम मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष राउतले चाहिँ आगामी तीनवर्षे कार्ययोजनासहित प्रतिवद्धता मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको दोस्रो सत्रको अध्यक्षता गरेका नवनिर्वाचित अध्यक्ष राउतले देवकीनन्दन अग्रवाल र सरु केसीलाई कार्यकारिणी सदस्य तथा यमबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, विजय श्रेष्ठ, मनोजविक्रम शाह, बिनोद बस्नेत र रामहृदय रायलाई आमन्त्रित सदस्यमा मनोनित गरिएको घोषणा गरे ।
कार्यसमिति सदस्य भविस श्रेष्ठले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले वर्तमान आर्थिक संकट समाधानका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले महासंघको पहलबाट बैंकको ब्याज दर घटेको दावी गर्दै उद्योगी व्यवसायीको हितका लागि महासंघ सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता जनाए ।
समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
गत चैत ९ गते झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
Comments