राप्रपा केन्द्रीय समितिको बैठकमा भाँडभैलो, अध्यक्ष लिङ्देन रिसाए, बैठकको माहोल बिग्रियो
Published: (Updated: )
by .फाइल तस्वीर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो ।
हिजो सोमबारदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आज आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्षको कार्यशैली माथि प्रश्न उठाउँदै आलोचनात्मक धारणा राखेका थिए । पार्टीमा विधि कायम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो ।
तर, धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने कार्कीलाई चेतावनी दिएपछि बैठकको माहोल बिग्रिएको बताइएको छ ।
आम निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर ध्यानाकर्षण पत्र बुझाएका थिए । ३ बुँदे उक्त ध्यानाकर्षण पत्रमा पार्टीका तीन जना नेताको लागि मात्रै किन गठबन्धन गरिएको भनेर प्रश्न गरिएको थियो । यस्तै पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई वरिष्ठताका आधारमा समानुपातिक सूचिमा राख्न आग्रह गरिएको थियो ।
तर, सो विषयमा लिङ्देनले कुनै सम्बोधन नगरेपछि आफूले आजको केन्द्रीय समिति बैठकमा यही विषयसहित पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ भनेर कुरा उठाएको केन्द्रीय सदस्य कार्कीको भनाई छ ।
‘हिजो पार्टी मै नभएका र भर्खर आएका मान्छेहरुलाई कमिटीहरुमा माथिमाथि राखिएको छ । तर, हाम्रो अध्यक्षले कांग्रेसको कार्यक्रममा गएर नेताहरु गाउँघरमा जाँदा को आयो को आयो भन्दा चोर आयो भन्छन् भन्नु भएको थियो । तर, चुनावमा गठबन्धन गर्न तपाईँ त्यही चोर नेताहरुको पछि लाग्नु भएको भनेर मैले प्रश्न गरेकै हो’ उनले सञ्चारकर्मीहरुसँग भने।
चुनावमा एमालेलाई भोट नहाले कारबाही गर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको भोट घटेको उनको गुनासो थियो । गठबन्धन नगरिकन चुनावमा गएको भए पार्टीको हैसियत अझै माथि हुने भए पनि नेतृत्वले सही निर्णय लिन नसकेको उनको धारणा थियो ।
कार्कीले नेतृत्वको आलोचना गरेपछि पार्टीमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै अध्यक्ष लिङ्देन जंगिएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो क्रममा लिङ्देनले अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि कार्कीले फेरि प्रतिवाद गरेका थए ।
‘के को अनुशासनको कारबाही ? पार्टीमा बसेर लेख्न बोल्न पनि पाइँदैन ? हामीले तपाईँहरुलाई सच्चिनका लागि ध्यानाकर्षण पत्र बुझाउँदा अनुशासनको कारबाही हुन्छ ?’ कार्कीले प्रतिवाद गरेका थिए ।
जवाफमा लिङ्देनले आफूलाई तीन बुँदे ध्यानाकर्षणमा प्रयोग भएको आसेपासे शब्दले चित्त दुखेको बताएको बैठकमा सहभागी अर्का एक नेताले बताए ।
Comments