Sajhamanch Archive

विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

बाह्रदशी । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुको अभिभावकत्व बाह्रदशी जेसीजले ग्रहण गरेको छ । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबैखाले शैक्षिक सामग्री बुधबार हस्तान्तरण पनि गरिएको छ ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको हो । विद्यार्थीको अभिभावकत्व ग्रहणसँगै उनीहरुलाई उच्च शिक्षा अध्ययन गर्दासम्म लाग्ने सबै खर्च जेसीजका पदाधिकारीले ब्यहोर्ने सम्झौता भएको छ ।

गाउँपालिका भित्र रहेका अति विपन्न परिवारका विद्यार्थी छनोट गरेर उनीहरुको अभिभावकत्व ग्रहण गरिएको बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

बाह्रदशी १ मा रहेको अमृत माध्यमिक विद्यालयबाट दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ भने अन्य सामुदायिक विद्यालयका एक एक जना विद्यर्थीको अभिभावकत्व ग्रहण गरिएको जनाइएको छ ।

अमृत माविका विद्यार्थी मनिष राजवंशीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज सन् २०२२ का अध्यक्ष उप्रेतीले मनिषले उच्च शिक्षा अध्ययन गर्दासम्मको खर्च व्यहोर्ने घोषणासहित यो वर्षका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

त्यस्तै जनता आधारभूत विद्यालयका सुहानी खातुनको अभिभावकत्व निर्वतमान अध्यक्ष पुष्प धमलाले गरेका छन् । यसैगरी सुन्दरपूर आधारभूत विद्यालयका आंशिका गणेशको अभिभावकत्व कोषाध्यक्ष टंक कार्कीले, साधुपर्ती आधारभूत विद्यालयका पेम्वा तामाङको महासचिव खगेन्द्र सुवेदीले अभिभावकत्व ग्रहण गरेका छन् । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुले सहयोग पनि प्रदान गरेका हुन् ।

त्यस्तै अन्य विद्यार्थीका लागिसमेत जेसीजमा आवद्ध पदाधिकारीले अभिभावकत्व ग्रहण गर्दै एक वर्षभर पुग्ने स्टेशनरी सामग्रीसहित विद्यालय पोशाक, व्याग, जुत्ता आदि सामग्री प्रदान गरिएको छ ।

सो कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशी जेसीजसँग सहकार्य गरेर विविध रचनात्मक काम गर्न गाउँपालिका तयार रहेको भन्दै रिजल्ट दिने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए । ‘जेसीजले गरेको यो कार्यक्रम निक्कै प्रभावकारी हुने विश्वास लिएको छु’ पालिका अध्यक्ष चम्लगाईले विश्वस ब्यक्त गरेका थिए ।

कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने बताउँदै जेसीका अध्यक्ष उप्रेतीले भने ‘यो सुरुवाती वर्ष हो । यसमा हामीले रहेक सामुदायिक विद्यालयका एक एकजना विद्यार्थीको मात्रै अभिभावकत्व ग्रहण गरेका छौं । यो प्रक्रिया निरन्तर बढेर जानेछ ।’

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष शान्ति शिवाकोटी खरेलले बाह्रदशी जेसीजले उदाहरणीय काम गरेको भन्दै यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने सुझाव दिइन् ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बाह्रदशी जेसीजले गाउँपालिकाले गर्नुपर्ने कामलाई आफूले जिम्मेवारी लिएर गरेको भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष पुष्प धमलाले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव खगेन्द्र सुवेदीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *