नामाकरण विरुद्धको आन्दोलनमा धरपकड नगर्न कांग्रेसको आग्रह
Published:
by .विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संंघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनरत सम्पूर्ण साथीहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना मागहरु राख्न आग्रह गर्दछौं ।’
नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई दमन नगर्न र समस्या समाधानका लागि पहल गर्न प्रदेश सरकारलाई सचेत गराउँदै अगाडि भनिएको छ– ‘प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य नगर्न भन्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं ।’
प्रदेशको नामाकरण पश्चात उत्पन्न परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बू लाजेहाङको निधन भएको घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै विज्ञप्तिमा परिवारजनमा समवेदना ब्यक्त गरिएको छ ।
सोही आन्दोलनका क्रममा घाइते भएका इलाम चुलाचुली १ का गजेन्द्र फागो र झापा अर्जुनधारा ११ की निर्मला क्षेत्री लिम्बु लगायतका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको औषधि खर्च ब्यहोर्न कोशी प्रदेश सरकारसँग माग पनि गरिएको छ ।
Comments