Sajhamanch Archive

भद्रपुरका ५० जना किशोरीलाई आत्मरक्षा तालिम

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि सात दिने तालिम थालिएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले बताइन् ।

आज बिहान एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले तालिमको उद्घाटन गरेका थिए । नगर बाल सञ्जालका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेलले खासगरी किशोरी–युवतीहरुका लागि आवश्यक र उपयोगी आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुमा आत्मविश्वास बढ्ने बताउँदै पूरा समय तालिममा सहभागी हुन र आफूले सिकेको ज्ञान आफ्ना नजिकका साथीहरुसँग पनि आदान–प्रदान गर्न आग्रह गरे ।

सामाजिक विकास शाखाका सञ्जु कोइरालाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, ८ नं वडाध्यक्ष गौरव सुब्बा, कार्यपालिकाको सामाजिक विकास समितिका सदस्य ललिता ठाकुर लगायतले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

तालिममा वरिष्ठ कराते प्रशिक्षक सौरव प्रधान र सेल्फ डिफेन्स कोच सम्झना सारु मगरले आत्मरक्षा तालिम प्रदान गर्ने र अन्य जीवनोपयोगी कक्षाहरु पनि सञ्चालन हुने शाखा प्रमुख राउतले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *