गणतन्त्र दिवसको शुभविहानीमा रेशम चौधरी जेलमुक्त
Published:
by .काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् ।
राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ ।
पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान जेलमुक्त भएका हुन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेता तथा कार्यकर्ताले फूलमाला, खाँदा लगाएर स्वागत गरेका छन् ।
टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
यसैगरी, चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको थियो । गत जेठ २ गते मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको थियो ।
टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।
Comments