Sajhamanch Archive

वर्षौंदेखि सफा खानेपानीको अभाव झेल्दै धरमपुरबासी

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

धरमपुर (शिवसताक्षी) । नेपालको पहाडी क्षेत्रका धेरै ठाउँमा पानीको अभाव भएर त्यहाँका बासिन्दाहरु तीन–चार घण्टाको बाटो पैदल गएर खानेपानी ल्याउनु पर्ने बाध्यताका बारेमा चर्चा हुनुलाई सायदै अनौठो मान्नु पर्ला । तर तराइको समथर भूगोलमा पनि सफा खानेपानीको समस्या छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । सुगम जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा १ धरमपुरका स्थानीयहरु वर्षौं वर्षदेखि यही समस्याबाट पिडीत छन् ।

साविक धरमपुर गाविस वडा नं. ८ का स्थानीय झलक खनाल हरेक १५–१५ दिनमा गिटी लिन कमल खोला पुगिरहन्छन् । खोलाकै छेउमा ठडिएको तर उत्पादन र वितरण सुरु नभएको खानेपानी ट्याङकीतिर आँखा लगाउँदै उनी गिटीको बोरा बोकेर घर फर्किन्छन् । कमल खोलाको गिटी र धरमपुरमा खानेपानीको अभावका बीच के सम्बन्ध होला र ? तपाईलाई जिज्ञासा जाग्नु स्वाभाविक नै हो ।

खनाल भन्छन्, ‘यहाँको अण्डरग्राउण्ड पानी यति पहेँलो छ कि फिल्टरमा गिटी फेरेको १० दिन नहुँदै फिल्टरको माथिल्लो भागमा बाक्लो लेदोको एकतह नै बनेको हुन्छ । हामी वर्षौंदेखि यसरी नै पानी फिल्टर गरेर खाइरहेका छौं ।

उनी भन्छन् ‘यस्तै आर्सेनिकयुक्त खराब पानी प्रयोग गरेर हाम्रा बुवाआमाले पूरै जिन्दगी बिताउनु भएको रहेछ । हाम्रो पनि आधा उमेर गइसक्यो, कम्तिमा फिल्टरसम्म गरेर पिउनयोग्य बनाउन सिकेका छौं । आशा छ हाम्रा छोराछोरीहरुले चाहिँ बनाइँदै गरेको यो ट्याङ्गीबाट आउने शुद्ध पानी पिउन पाउनेछन् ।’

इलामबाट बसाई सरेर धरमपुर आएर पक्की घर बनाउँदै गरेका जीतबहादर कार्कीको घर नै पहेँलो छ । बनाउँदै गरको घर भिजाउनका लागि मोटरबाट पनि लगाएँ । अहिले आएर नयाँ घरमा रंग नै लगाउन नपर्ने जस्तै भयो उनी ठट्यौलो पारामा भित्री पीडा सुनाउँछन् ।

अर्का स्थानीय प्रकाश कार्कीको समस्या पनि उस्तै छ । पानी जीवनकै आधारभूत आवश्यकता भए पनि पिउनका लागि बल्लबल्ल अलिकति पानी फिल्टर हुन्छ । नुहाउँन, लुगाधुन, भाँडावर्तन माझ्न त ‘ट्युबवेल’कै पानी प्रयोग गर्नुपर्छ । जुन भाँडामा ट्युबवेलको पानी राख्यो पूरे भाँडो नै पहेँलो र घिनलाग्दो हुने गर्छ । जति सफा गर्दा पनि कस नजाने र कपडाहरु पनि पहेँलो हुने हुन्छ ।

अर्का स्थानीय सविता राईको भनाईमा लुगा धुने पानी यही हो । यो पानीले धोएको लुगा पहेँलो मात्र नभएर पानीबाट गन्ध पनि आउने गरेको छ । तर पनि हामीलाई अर्को ‘अप्सन’ छैन । त्यही पानी प्रयोग गर्न बाध्य छौं । हाम्रो समस्या बुझिदिने सायदै कोही नभएको उनको गुनासो छ ।

अर्का स्थानीय गोमा खनाल भन्छिन्, ‘भाँडा धोयो भाँडा नै पहेँलो हुन्छ, कपडा धोयो कपडा नै पहेँलो हुन्छ । खानलाई पानी फिल्टर नगरी हुन्न । अनि के के गर्न पो फिल्टरको पानी खोज्नु ?’

अर्का स्थानीय प्रेम घिमिरे पनि आफ्ना बुवा आमाले थाहा पाउँदादेखि नै सो ठाउँमा पानीको यही समस्या थियो रे । मेरा पालामा पनि जिउँका त्यूँ छ, थाहा छैन कहिले अन्त्य हुने हो हामी धरमपुरबासीको यो पीडा । खानेपानी समस्याकै कारण अन्यन्त्र बसाई सरेर जाने योजना पनि बनाउँदैछु ।’

यो समस्या सिङ्गो धरमपुरको परिचायक बनेको छ । संघ–संस्थाहरुले अन–दानमा बाँडेको नयाँ प्रविधिका फिल्टर प्रयोग नगरेको पनि होइन । तर छिटो छिटो बाल–वा गिटी फेरिरहन– परेको छ । पिउनको लागि अथ्थवा भए पनि नयाँ प्रविधिका फिल्टर पनि खासै प्रभावकारी नभएको स्थानीय बताउँछन् ।

धरमपुरबासीहरुको खानेपानीको साझा समस्या निराकरणका लागि सरकारी स्तरबाट नै २०७४ सालबाट खानेपानी ट्याङकीको निर्माण कार्य भइरहेको छ । खानेपानी उपभोक्ता संस्थाका सचिव दुर्गा चेम्जोङ भन्छन्, ‘वहुवर्षीय परियोजना भएकाले खानेपानीको उत्पादन र वितरणमा एकमुष्ठ बजेट आएन । खानेपानीको लागि ओभरहेड ट्याङ्की निर्माण भइसकेकाले अब उत्पादन, प्रशोधन र वितरणका लागि आवश्यक कामहरु क्रमशः अगाडि बढाइने छ ।’

तर ६ वर्षदेखि निर्माण सुरु भएको खानेपानी परियोजना प्रतिफलयुक्त नहुँदा स्थानीय झलक खनालजस्तै सबै बासिन्दाहरु गिटी लिन कमल खोला गइरहनु पर्ने बाध्यता छ । उनीहरु खोला किनारमा बनाइँदै गरेको खानेपानी वितरणको संरचनातिर आँखा लगाउँदै गिटीको भारी बोकेर घर फर्किन अभिसप्त छन् ।

– प्रशिक्षार्थी शारदा घिमिरे

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *