Sajhamanch Archive

कमलमा विपद जोखिम तालिम सम्पन्न

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा आज विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा विपद व्यवस्थापनका क्षेत्रमा भए गरेका कार्यक्रमहरु र कानुनी प्रावधान, स्थानीय विपद व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, ऐनका विशेषताहरु, स्थानीय तहमा विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी नीतिगत व्यवस्थाबारे सुझाइएको थियो । नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल र कार्यलय प्रमुख हरिशरण खड्काले समुदायमा आधारित विपद जोखिम न्यूनीकरण लगायतका विषयमा सहजकीरण गरेका हुन् ।

सहजीकरणको क्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय पालिकासँगको समन्वयमा सविधानमा व्यवस्था भएअनुसार विपद व्यवस्थापनका न्यूनतम मापदण्ड पूरा गर्न लागिपरेको बताएका थिए ।

कुनै पनि विपदका घटना भएमा त्यसमा फसेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमामा झापाका १५ वटै पालिकाका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरिरहेकोे उनको भनाई छ ।

झापाका १५ वटा पालिकामध्ये ९ वटामा यस्तो कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ । कमल गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक हुकुमसिंह राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्य, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, शाखा प्रमुखहरु, शिक्षक लगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *