दुम्कौलीको अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’, अनारमनीमा बढी वर्षा
Published:
by .काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यो रेकर्ड विगत चार दिनयता तोडिएर ४३.८ पुगेको थियो ।
तर विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएको बताए । यद्यपि विभागले साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने भएकाले त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए ।
विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
वरिष्ठ मौसमविद पौडेलका अनुसार पूर्व, मध्य र पश्चिमका तराई–मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक छ । केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।
यस वर्षको मनसुन भारत आइपुगेको र त्यो नेपाल आइपुग्न केही दिन लाग्ने भएकाले केही दिन गर्मीको अवस्था कायम रहने मौसमविदहरुको प्रक्षेपण छ ।
झापाको अनारमनीमा सबैभन्दा बढी वर्षा
पहाडका केही क्षेत्रहरुमा भने वर्षा पनि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा ४० वटा केन्द्रहरुमा वर्षा मापन भएको छ ।
तीमध्ये सबैभन्दा बढी ६३.२ मिलिमिटर वर्षा झापाको अनारमनी विर्ता केन्द्रमा भएको छ । विभागले मानव सञ्चालित ७६ र स्वचालित १९६ केन्द्रहरुमा वर्षा मापन गर्दछ ।
तीमध्ये ७ वटा केन्द्रहरुमा १० मि.मि।भन्दा बढी, ४ वटा केन्द्रहरुमा २५ मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।
Comments