Sajhamanch Archive

महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् ।

आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले पत्रकारहरुको नाम समावेश गरेको पाइएकाले आफ्नो असहमति जाहेर गरेको उल्लेख गरेका छन् ।

सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छः ‘सदस्यता शुद्धिकरण मापदण्डमा १५ बुँदाले सदस्यहरुको शुद्धिकरण गर्ने हो । तर पत्रकार महासंघ झापाले मापदण्ड विपरित सदस्यहरुको नाम सिफारिस गर्ने तयारी गरेको हुँदा त्यसमा मेरो असहमति रहेको स्पष्ट पार्दछु । जिल्ला शाखाको बैठकमा मेरो उपस्थिति रहेको र बैठक पुस्तिकामा मेरो हस्ताक्षर देखिएता पनि शुद्धिकरण सम्बन्धी प्रस्ताव माथि छलफल हुँदा मापदण्डलाई अपव्याख्या गर्दै निर्णय गरिएकोले मैले असहमति जनाउन ‘नोट अफ डिसेन्ट’ लेख्न खोज्दा सो गर्न पनि नदिएकाले यो प्रेस विज्ञप्ति जारी गर्न बाध्य भएको छु ।’

नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा बनेको कार्यदलले शुद्धिकरणको नाममा केही सदस्यहरुको नाम कार्यसमितिलाई बुझाएको थियो । २०८० जेठ २७ गते शनिवार राति अबेरसम्म चलेको कार्यसमितिको बैठकमा उक्त नामावली पेस गर्दा अधिकांश पत्रकारहरुको नाम तोकिएको मापदण्डमा नपर्ने सदस्यहरु समावेश भएको पाएपछि उनले बैठकमा नै असहमति जनाएको विज्ञप्तिमार्फत् प्रष्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समिति समक्ष सुवेदीले ‘शुद्धिकरण मापदण्डमा नपर्ने पत्रकारहरुलाई पूर्वाग्रही ढंगबाट नाम समावेश गरिएको र मादण्डमा पर्ने, पत्रकारिताभन्दा बाहिर रहेका निस्क्रिय व्यक्तिलाई शुद्धिकरणमा समावेश नगरिएकाले झापामा अविलम्ब निष्पक्ष, पारदर्शी र मापदण्डको पूर्ण पालना हुने गरी छानविन गर्न जोडदार माग’ पनि गरेका छन् ।

मापदण्ड बमोजिम शुद्धिकरण हुनुपर्छ भन्दाभन्दै बहुमतका नाममा मापदण्ड विपरित भएको सदस्यता शुद्धिकरण र नयाँ सदस्यहरुको सिफारिसप्रति उनले विमति रहेको पनि जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *