Sajhamanch Archive

आयोजक एकेडेमी च्याम्पियन बन्दै सकियो मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न दुई दिवसीय प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ प्रदेश र आयोजक टिम सहभागी प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुङ्गाना र ६१ केजीमा खेल्ने पूजा चौधरीले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी ४५ केजी तौल समूहकी प्रियङ्का राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् ।

दोस्रो हुने बागमती प्रदेशले ५ स्वर्ण र २ कांस्य पदक हात पारेको छ । बागमतीबाट पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जिवनी कार्कीले स्वर्ण पदक जितेका छन् । त्यसैगरी बागमतीले कातातर्फका दुवै पदक हात पारेको छ । बागमतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजी माथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन् ।

तेस्रो भएको गण्डकी प्रदेशले दुईवटा स्वर्ण र एउटा कांस्य पदक हात पारेको छ । गण्डकीका ५५ केजी तौल समूहका अंकित गुरुङ र ७५ केजी माथिको तौल समूहका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् । त्यसैगरी गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिमरन राईले कांस्य पदक प्राप्त गरेकी छन् ।

प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गर्यो । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कांस्य पदक हात पारेको हो । कोशीका ७५ केजी तौल समूहका राजिब खड्काले स्वर्ण जितेका छन् । रजतपदक ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समूहकी सञ्जिता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन् । कोशीका ६० केजीका साहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समीक्षा लेप्चाले काँस्य पदक हात पारे ।

लुम्बिनी प्रदेश ५औं स्थानमा रह्यो । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी शुशिला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् ।

सुदुरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कांस्यपदक जित्दै छैटौ स्थानमा रहेको छ । सुदुर पश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष सेजुवाल र ६१ केजी तौल समूहकी सोनियाँ तिरुवाले रजत पदक हात पारे ।

कांस्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ कजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीमा खेल्ने अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कास्यपदक प्राप्त गरेका हुन् ।

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेशले सातौं र आठौं स्थान बनाए । मधेस प्रदेशले ३ रजत र ३ कांस्य जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सबिना दियालीले रजत पदक हात पारेका छन् । ५० केजीका उज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले नै कांस्य पदक प्राप्त गरे ।

कर्णाली प्रदेशले १ रजत र १ कांस्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दिप बिकले रजत र ४५ केजी तौल समूहका मिलकुमार राईले कांस्यपदक हात पारेका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जित्नेले नगद १० हजार, रजत पदक पाउनेले ७ हजार र कांस्य पदक पाउनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा देशभरका १२० जनाभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *