आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा तीन गुणासम्म मूल्यवृद्धि, दोषी सरकार कि व्यवसायी ?
Published:
by .काठमाडौं । बजेट आएको दिन १५ जेठमा कालीमाटी तरकारी बजार विकास समितिको बजार मूल्य सूचनामा प्याजको प्रतिकिलो थोक मूल्य ३४ रुपैयाँ ३७ पैसा थियो । सोही दिन आलुको मूल्य प्रतिकेजी ३१ रुपैयाँ मात्रै तोकिएको थियो । तर, बजेट घोषणाको १४ दिनमा आलुको मूल्य करिब दोब्बर र प्याजको मूल्य किलोमा साढे तीन गुणाले बढ्यो ।
अचम्म चाहिँ के छ भने यतिबेला सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार विकास समितिले आलु र प्याजको मूल्य नै सार्वजनिक गर्न बन्द गरेको छ । बजारबाट स्पष्ट मूल्य सूचना नभए पनि बजारमा प्याज र आलु पर्याप्त मात्रामा छ । तर, मूल्य छोइसक्नु छैन ।
सोमबार काठमाडौंको वनस्थली क्षेत्रमा प्याज किलोमा ९० रुपैयाँ, आलु ४५ रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ । यस्तै बानेश्वर, असन, मैतीदेवी, कोटेश्वर, इमाडोल र भक्तपुरका कतिपय किराना पसलमा अधिकतम् १३० रुपैयाँ किलोमा समेत प्याज बिक्री भएको व्यवसायी दधीराम उप्रेतीले बताए ।
बजेटले आलु र प्याजमा अन्तःशुल्क हटाएर १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने घोषणा गरेपछि महँगिएको आलु र प्याजका कारण किसानको भान्सा दिनदिनै महँगो हुँदै गएको छ ।
सोमबार नेपालमा आलु र प्याजको आयात तथा वितरणमा सहभागी व्यवसायीहरुले सरकारको भ्याट नीतिका कारण आफूहरुले ती वस्तुको आयात गर्न नसकेको भन्दै बजारमा सरकारले जानजान अराजकता निम्त्याएको आरोप लगाए ।
नेपाल कृषिउपज आलु र प्याज आयात निर्यात थोक बिक्री संघका अध्यक्ष मोहन बानियाँले पूर्व तयारी विना नै भान्साको अत्यावश्यक वस्तुमा भ्याट लगाउँदा व्यवसायीहरु अन्योल र भ्याटको त्रासमा परेको बताए । आयातकै दौरान ठूलो क्षति व्यहोर्नु पर्ने कृषि उपजमा लगाइएको करका कारण ठूलो नोक्सान हुने देखिएपछि आफूहरुले वस्तु आयात गर्न नसकेको भन्दै यो सबै कुरामा अर्थमन्त्री जिम्मेवार रहेको बानियाँले आरोप लगाए ।
अर्थमन्त्रीको भ्याट नीतिले राम्रो काम गर्ने व्यवसायीहरु निरुत्साहित भएको र बजारमा चोरी पैठारी गर्नेले मौका पाएको उनको दाबी छ । ‘आयातको विवरणको अंक मात्रै हेरेर विनाअध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो,’ उनले भने ।
यस्तो व्यवस्थाले व्यवसायीले आलु र प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको उनको भनाइ छ । अध्यक्ष बानियाँले थपे, ‘सरकारको नीतिपछि व्यवसाय बचाउन हामी हारगुहार गरिरहेका छौं । आलु र प्याज आयात गर्न र भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न सकेका छैनौं । यसको दोषी सरकार हो ।’
बजारमा प्याजको हाहाकार बढी रहँदा अर्थमन्त्री र अर्थ मन्त्रालयले भने आयातित कृषि उपज घटाउन यस्तो व्यवस्था गरिरहेका र यसको स्वदेशी कृषकको हित गर्ने दाबी गरिरहेको छ । आयात गर्ने व्यापारी र धनीमात्रै भ्याटबाट प्रभावित हुने अर्थमन्त्रीको दाबीका बीच बजार भने अनुगमनविहीन भएको छ । जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।
गोदामा प्याज छैन, मूल्य बढेको छ : वाणिज्य विभाग
बजार अनुगमन गर्ने केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजेट पछि प्याजको मूल्य बढेको साँचो भएको बताएको छ । पछिल्लो दुई सातामा बजारको ठूलो गोदाममा प्याजहरु नभएको विभागका निर्देशक एवम् प्रवक्ता होमनाथ भट्टराईले बताए ।
आलुमा भने ठूलो समस्या नदेखिएको उनले बताए । ‘बजारमा गोदाममा प्याज छैन, पसलमा स(साना बोरामा प्याज देखिएका छन् । ‘आयात नभएका कारण प्याज नभएको व्यापारीहरुले बताएका छन्,’ भट्टराईले भने, ‘आलुमा खासै समस्या हामीले पाएनौं, व्यवसायीहरुसँग पनि बसेर छलफल गरेका थियौं, उहाँहरुले आन्दोलनमा छौं भन्नुभयो ।’
विभागले पछिल्लो दुई सातामा आधा दर्जन ठाउँमा अनुगमन गरेको पनि भट्टराईको दाबी छ । तर, आलु र प्याजमा भएको महँगीबारे कसैलाई कारबाहीको दायरामा भने ल्याएको छैन ।
खुला सीमाबाट आयो आलु र प्याज
यता आलु र प्याजको व्यवसाय गर्ने व्यापारीहरुले भने सरकारले नियमित कर तिर्ने व्यपारीलाई पेलेर अवैध कारोबारलाई मलजल गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले भ्याटको निर्णय गरेपछि खास व्यापारीले वस्तु आयात नगरेको र चोर बाटोबाट भित्रिएको आलु र प्याज बजारमा मनपरी मूल्यमा बिक्री भइरहेको संघका अध्यक्ष मोहन बानियाँले दाबी गरे ।
कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले दैनिक उपभोग्य वस्तु आलु र प्याजमा सरकारले अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए । नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनले बताए ।
‘हामी सयौंको संख्यामा रहेका स्थायी व्यवसायीलाई पेलेर आलु र प्याज आयात गर्न नसक्ने अवस्थामा पुर्याइयो, हामीले व्यापारमा क्षति देखेपछि आयात गर्न नसकेकै हो,’ गजुरेलले भने, ‘अहिले बजारमा मूल्य कहाँबाट कहाँ पुग्यो, उपभोक्ता मारमा परे यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ बजारमा आलु र प्याज अभावमा आफूहरुलाई दोष थोपरिएको भन्दै उनले त्यसको खण्डन पनि गरे । ‘हामीले नियमित गरिरहेको काममा सरकारले भाँजो हाल्यो । लौ न यसो नगरम् भन्दै व्यवसाय बचाउन हिँड्नुपरेको छ । हामीले आयात गर्न नसकेको हो । अहिले बजारमा भएको अराजकता सरकारले जिम्मा लिनुपर्छ ।’
आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना : अर्थमन्त्री
सोमबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा। प्रकाशशरण महतले आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका छन् ।
‘एकातर्फ आलुरतरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गर्ने ?’ अर्थमन्त्री महतले प्रतिप्रश्न गरे । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने एक यन्त्र कर भएको भन्दै उनले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने पनि दाबी गरे ।
सरकारले राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन बजेट केन्द्रित रहेको दाबी गरे । हरेक वर्ष भ्याट छुटको दायरा बढ्दै जाँदा त्यसलाई सच्याइएको उनको दाबी छ ।
Comments