बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन एमाले अध्यक्ष ओलीद्वारा प्रदेश सांसदहरुलाई निर्देशन
Published:
by .काठमाडौं । नेकपा (एमाले)ले आज सातै प्रदेशका आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठक गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेर निर्देशन पनि गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटका विषयमा भर्चुअल बैठक भएको हो । सो बैठकलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएकोमा आपत्ति प्रकट गरेका छन् ।
बैठकपछि केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष ओलीले सांसदहरुलाई बजेट, नीति तथा कार्यक्रममा केन्द्रित रहेर निर्देशन गरेको उल्लेख छ । विज्ञप्तिमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै विभागका सचिव विष्टले भनेका छन् – बजेट विनियोजन पैत्रिक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक छ । बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सांसदहरुलाई सशक्त विरोध गर्न अध्यक्ष ओलीले निर्देशन पनि दिएका छन् ।
बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन भन्दै अध्यक्ष ओलीले हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भनेको पनि वित्रप्तिमा उल्लेख छ ।
अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि पार्टीका धारणा राखेका थिए । प्रदेश सभाको दुई तिहाइले विधिवत ढङ्गले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै उनले कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने भनाई दोहोर्याएका थिए । अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने पनि बैठकमार्फत चेतावनी दिएका थिए । कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने कुरामा अध्यक्ष ओलीको जोड थियो ।
बैठकमा प्रदेशसभा नेकपा (एमाले) संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए । उनीहरूले बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको जानकारी गराएको जनाइएको छ । बजेटले जनताका आधारभूत आवश्यकतालाई ध्यान नदिएको, कृषि क्षेत्रको विकास र आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा ध्यान दिन नसकेको, दलीय आग्रह र कार्यकर्तामुखी खुद्रे कार्यक्रममा केन्द्रित रहेको, वितरणमुखी, गन्तव्यहीन रहेको, जनताको पक्षमा नरहेको, पन्ध्रौं पञ्चवर्षीय योजनालाई बेवास्ता गरेको प्रदेश संसदीय दलका नेताहरूले जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको बजेट समृद्ध प्रदेश निर्माण, दिगो विकास लक्ष्य हासिल गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोग पुर्याउने कुरामा केन्द्रित रहेको बताएका थिए । मुख्यमन्त्री कार्कीले बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण र विकास पहिलो प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ५ दशमलव ७ प्रतिशत हासिल गर्ने प्रक्षेपण गरिएको जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकलाई सहजीकरण गर्दै पार्टीका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले सरकारमा रहेको गठबन्धनले प्रदेशको औचित्य समाप्त गर्न चाहनेलाई सहयोग पुर्याउने काम गरिरहेको जिकिर गरेका थिए ।
Comments