आफ्नै हाकिमविरुद्ध मनपरी लेख्नेलाई पनि कारबाही हुन्न : अख्तियार प्रमुख राई
Published:
by .काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे ।
‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । जहाँ पनि, जसले जे गर्दा पनि ठीक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ’, उनले भने ।
अख्तियार प्रमुख राईले तत्कालिन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका क्रममा बहालवाला जिल्ला न्यायाधीशले उजुरी दिएको, सामाजिक सञ्जालमा उनका विरुद्ध लेखेको घटनाको उदाहरण दिए ।
‘अस्ति सम्माननीय प्रधानन्यायाधीशको उसमा (संसदीय सुनुवाइमा) आफ्नै जिल्ला न्यायाधीशले उजुरी हाल्यो, फेसबुकमा लेख्यो, ट्वीटरमा लेख्यो । तर, कारबाही गर्ने हिम्मत भयो रु तुरुन्तै गर्नुपर्छ नि (कारबाही) न्याय परिषदमा छैन त्यो व्यवस्था रु किन गरेन रु’ राईले प्रश्न गरे, ‘यस्तै अन्यले पनि लेखिरहेका छन्, तर कसैलाई हामी कारबाही गर्दैनौं ।’
प्रधानन्यायाधीश कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले उजुरी दिएका थिए । २९ जना उजुरीकर्ताहरुको नेतृत्व गर्दै संसदीय सुनुवाइ समितिमा पुगेका थिए ।
Comments