दुग्ध उत्पादक किसानलाई कोशी प्रदेश सरकारको अनुदान हस्तान्तरण
Published:
by .मेचीनगर । दूध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्नेगरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ ।
किसानले उत्पादन गर्ने दूधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सो अनुदान वितरण गरेको हो । आइतबार मेचीनगर−१२ स्थित रितिका डेरी उद्योगमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले अनुदान रकम हस्तान्तरण गरेको हो । पहिलोपटक प्रतिलिटर दुई रुपैयाँका दरले हुने गरी दिइएको अनुदानबाट झापा र इलामका ३ हजार ६०० भन्दा बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले पहिलोपटक सो कार्यक्रम ल्याएको हो । जसमा आइतबार मात्रै ४७ लाख १८ हजार रुपैयाँभन्दा बढी रकम अनुदान स्वरुप वितरण गरिएको छ । रितिका डेरीमा दूध बिक्री गर्दै आएका किसानहरुलाई यस्तो अनुदान वितरण गरिएको हो । सो डेरीले झापा र इलामका अधिकांश स्थानबाट दैनिक ३० हजार लिटर दुू संकलन गर्ने उद्योग स्रोतले जनाएको र्छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादक कृषक समूहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो ।
अब यी सम्पूर्ण संस्थाहरुले आफूलाई दूध उपलब्ध गराउने किसान समक्ष यो रकम पुर्याउने छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले किसानले उत्पादन गर्ने दूधको आधारमा अनुदान दिइँदा सम्पूर्ण किसान लाभान्वित हुने बताए ।
‘यो आम किसानका लागि अत्यन्तै महत्वपूर्ण योजना हो, पहुँच नभएका तर हरेक समय आफ्नै माटोमा परिश्रम गर्ने किसान चौतर्फी मारमा परिरहेका बेला यस्तो कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा पनि हो । अब प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,’ उनले भनेका छन् । किसानको क्षेत्रमा स्थानीय तहले पनि कस्ता कार्यक्रम ल्याउने बारे छलफल भइरहेको नगरप्रमुख बुढाथोकीको दावी छ ।
सो कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारी, मेचीनगर−११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेरीका सञ्चालक राजन चिमरियाले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक योगेन्द्र चिमरियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही अवसरमा रितिका डेरीका सञ्चालक घनश्याम चिमरियाले दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारतको पश्चिम बंगाल निवासी हरेसप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरे ।
Comments