कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि
Published:
by .कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो ।
दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा ४ हजार ३८७ मिटरभन्दा बढी सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार वडा नम्बर १, २, ३ र ४ लाई जोड्ने ३११ मिटर लम्बाइको पञ्चायत मार्ग, वडा नम्बर ३ मा पर्ने ४८० मिटर लम्बाइको रिङरोड, वडा नम्बर ५ मा रहेको १ हजार २१ मिटर लम्बाइको फेचाहोली लगायतका सडकमा कालोपत्रे गरिएको छ । ९ किलोमिटरभन्दा बढी सडकमा पेवर्स लगाउने काम सम्पन्न भएको छ ।
नगरपालिकाले सडक निर्माणका साथै अन्य क्षेत्रलाई समेत उत्तिकै ध्यानमा राखेर काम गरिहेको जनाइएको छ । जसअन्तर्गत नगरबाट निस्किएको फोहोरलाई मोहोर बनाउनका लागि कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जाको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षभित्र ग्यास उत्पादन भई बिक्री वितरण सुरु गरिने गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै बर्खाको समयमा बाढीबाट हुने क्षतिलाई न्यूनीकरणका लागि वडा नम्बर २ स्थित कनकाई नदीमा तटबन्दको काम भइरहेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् । जनताका लागि व्यवस्थित सेवा सुविधा उपलब्ध गराउन र राष्ट्रको आर्थिक तथा सामाजिक विकास सञ्चालन गर्न आवश्यक हुने सबै किसिमका भौतिक, मानवीय, प्राकृतिक, आर्थिक तत्वलाई ध्यानमा राखेर नगरपालिकाले पूर्वाधारका क्षेत्रमा काम गरिरहेको नगरप्रमुख पोखरेलको भनाई छ ।
‘नगरवासी आम जनताको भावना अनुसार काम गर्दैछौ । अधिकांश जनताको माग भनेकै सडक विस्तार रहेको छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्दैछौं’ नगर उपप्रमुख आशा शर्मा सिवाकोटी बताउँछिन् । नगरपालिकाले स्वास्थ्य र शिक्षा, ज्येष्ठ नागरकि भवन निर्माणलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।
कनकाई नगरपालिकाले चालू आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रममा समेटेका योजनाहरु मध्ये ९५ प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने बताउँछन् । ‘नगरपालिकाको विकासमा प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार क्षेत्र भएकोले यसलाई प्राथमिकतामा राखेका छौ । सडक, कल्भर्ट निर्माणका साथै शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय काम गरिरहेका छौं’ प्रमुख प्रशासकीय अधिकृत न्यौपाने प्रष्ट्याउँछन् ।
Comments