काठमाडौंमा शहरी सौन्दर्यलाई प्राथमिकता, पूर्वाधार निर्माणमा एक तिहाइ बजेट
Published:
by .काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) ०८०र८१ को बजेटमा शहरी सान्दैर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो ।
महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३।७२ प्रतिशत र पूँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६।२८ प्रतिशत बजेट ल्याएको हो ।
धुलोरहित काठमाडौंदेखि हाइमास्ट लाइटसम्म
महानगरले ल्याएको बजेटमा पूर्वाधारतर्फ मात्रै ७ अर्ब ३४ करोड ६४ लाख विनियोजन गरिएको छ, जुन करिब २९ प्रतिशत हो । यसमध्ये नगर क्षेत्रभित्रका डीपीआर भएका सडक तथा पेटीको मर्मत तथा निर्माण गर्न ‘धुलोरहित काठमाडौं’ योजनालाई १ अर्ब रकम विनियोजन गरेको छ । सडक निर्माण प्रभावकारी बनाउन भन्दै महानगरले आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सको लागि २५ करोड रकम छुट्याएको छ ।
यस्तै पूर्वाधार क्षेत्र कार्यक्रमअन्तर्गत नै महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइबर तथा अन्य केबल विस्तारका लागि आफ्नो युटिलिटी डक्ट र सेयर्ड इन्फ्रास्टक्चरका लागि १० करोड बजेट छुट्याइएको छ ।
बजेटमा सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई सुन्दर बनाउन ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरले ‘उज्यालो शहर, मेरो महानगर’ योजनामा सबै सडक तथा गल्लीमा सडक बत्ती र १०० वटा मुख्य चोकमा हाइमास्ट लाइट हाल्न ३० करोड रकम छुट्याएको छ ।
यस्तै महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवम् सडक सुरक्षाका लागि भन्दै १० करोडको कार्यक्रम घोषणा भएको छ । महानगरले सूचना प्रविधि क्षेत्रअन्तर्गत पनि महानगर सुरक्षा र सौन्दर्यमा बजेट राखेको छ । मुख्य सडक, चोक तथा गल्लीमा सर्भिलेन्स क्यामेरा जडान गर्न ‘महानगरले देख्छ’ योजनाका लागि २० करोड रकम छुट्याइएको छ ।
यस्तै ‘मेरो रहर, हरित सहर’को योजनाअनुरुप महानगरमा पार्क, आइल्याण्ड निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणका लागि ५० करोड रकम विनियोजन भएको छ । महानगरले नीति तथा कार्यक्रममा १ लाख विरुवा रोप्ने घोषणा गरेको थियो ।
यस्तै विभिन्न हिती र पोखरीको नियमित मर्मत सम्भार र संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न महानगर स्वर्णिम योजनाअन्तर्गत २ वटा कार्यक्रमका लागि २६ करोड रुपैयाँ बजेट छुट्याइएको छ । महानगरले ल्याएको बजेटमा वायु प्रदूषण, ध्वनी प्रदूषण लगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन गर्न भन्दै बजेट छुट्याएको छ ।
प्रधानध्यापकको भत्ता वृद्धि, सुलभ फार्मेसी
काठमाडौं महानगरले आगामी आवका लागि पूर्वाधारपछि सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । आन्तरिक स्रोतबाट १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन भएको छ ।
विद्यार्थीको आधारभूत प्राविधिक ज्ञान र सीप प्रवर्द्धन गर्ने भन्दै ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि महानगरले ५० करोड विनियोजन गरेको छ । एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापनका लागि बजेट गरिएको छ । महानगरले डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा मात्रै दिवा खाजाको रकम दिने भएको छ । चौमासिक रुपमा वितरण हुँदै आएको शिक्षकहरुको तलब तथा भत्ता मासिक रुपमा भुक्तानी गर्ने र प्रधानाध्यापकहरुका लागि मासिक भत्तामा वृद्धि गर्ने घोषणा गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा ९२ करोड ६६ लाख बजेट ल्याएको काठमाडौंले आफैंले ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने भन्दै ६ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा निर्दिष्ट नगर अस्पताल सञ्जालको घोषणा गरेको महानगरले त्यसका लागि १० करोड रुपैयाँ छुट्याएको छ । महानगरले विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी वितरण गर्न ७ करोड रकम विनियोजन गरेको छ ।
कृषि उपजको भण्डारण, विषादी प्रयोगशाला
काठमाडौं महानगरले अर्गानिक तरकारी, फलफूल तथा माछामासुलगायत खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको बिक्री वितरण तथा भण्डारण गर्ने भएको छ ।
महानगरले ‘एग्रोपुलिङ’ कार्यक्रमका लागि १ करोड रकम छुट्याएको हो । यस्तै महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवम् फलफूलको विषादी परीक्षण गर्न काठमाडौंले प्रयोगशाला स्थापना गर्ने भएको छ । महानगरपालिकाले यसका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।
Comments