Sajhamanch Archive

हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् ।

मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ गते राति आएको बाढीले बगाएपछि १० दिनदेखि अवरुद्ध थियो ।

हृयुम पाइप राखेर खोला डाइभर्सन गर्दै मंगलबार यो सडक खुलाइएको हो । खोलामा डाइभर्सन गर्न सडक डिभिजन इलामका प्राविधिक र कामदारसँगै ठूलो संख्यामा स्थानीयहरू तीन दिनसम्म खटेका थिए । डाइभर्सन गर्ने काम सकिएसँगै आज अपराह्न २ बजेपछि यातायात र ढुवानीका साधन ओहोर दोहार गर्न थालेका हुन् ।

बाढीले पूल बगाएपछि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल बेलिब्रिज निर्माण गर्न सडक डिभिजन इलामलाई निर्देशन दिएका थिए । सामग्रीसहित आएका प्राविधिकले बेलीब्रिज बनाउन थाले पनि सम्पन्न गर्न लामो समय लाग्ने भएपछि खोलामा डाइभर्सन गरेर अस्थायी विकल्प खोजिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर विदुर पोखरेलले बताए ।

उनका अनुसार खोलामा १६ वटा हृयुम पाइप राखेर डाइभर्सन गरिएको छ । डाइभर्सन गरिएसँगै हेवा खोला वारीबाट ताप्लेजुङसहित पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ जान रोकिएका सवारी र ढुवानी साधन आफ्नो गन्तव्यमा प्रस्थान गरेका छन् ।

यस्तै हेवा खोला पारि रोकिएका सयभन्दा धेरै साधनलाई ट्राफिक व्यवस्थापन गर्दै गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले पूल बगाएपछि हेवापारिको पाँचथर र ताप्लेजुङमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु पठाउन कठिनाइ भएको थियो । मानिस र कृषिजन्य वस्तु पार गर्न फड्के पूल र तुइन निर्माण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *