सबैको समृद्धिमा दोस्रो साधारणसभा
Published:
by .बिर्तामोड । सबैको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले आगामी आर्थिक वर्षको लागि १४ वटा नीति तथा कार्यक्रम अगाडि सारेको छ । सदस्यता विस्तार गर्ने, कृषि क्षेत्रमा लगानी गर्ने, विभिन्न आय तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारिएको सहकारी संस्थाका अध्यक्ष बोधराज दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा उद्घाटित साधारणसभामा आफ्नो मन्तब्य राख्दै कार्कीले अब सहकारीहरुले ऋण लगानी गरेर ब्याज मात्र खाने होइन, उत्पादनको क्षेत्रमा पनि लगानी गर्नुपर्छ भने ।
उनले एक स्थानीय तहभन्दा बढी कार्यक्षेत्र भएका सहकारीहरुका लागि प्रदेश सरकारले नयाँ कानून ल्याउन लागेको जानकारी पनि दिए ।
संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जनशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङबा, समाजसेवी टेकबहादुर शाहशंकर, पत्रकार इन्द्रसिंह राजवंशी लगायतले मन्तब्य राखेका थिए ।
त्यस अबसरमा असल ऋणी गंगाराम महतो, आवधिक बचतकर्ता हिना खान, बाल बचतकर्ता रयान खान, साधारण बचतकर्ता हरि खरेल, कर्मचारीहरु मुना चौधरी, दिक्षा राई, बजार प्रतिनिधि पबित्रा खड्कालाई सम्मान गरियो ।
संस्थाका उपाध्यक्ष पवन तिम्सिनाले सञ्चालन गरेको साधारणसभामा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई देवीका उप्रेतीले शब्दद्वारा स्वागत गरेकी थिइन् ।
४८९ शेयर सदस्य रहेको सो सहकारी संस्थाको शेयर पूँजी ४६ लाख रुपैयाँ हाराहारी रहेको छ ।
Comments