ठुटेवरमा मङ्सीर ४ गतेदेखि मेला लाग्ने
Published:
by .बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबर परिसरमा धेरै वर्ष अघिदेखि निरन्तर गरिँदै आएको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय ठुटेबर मेला मङ्सीर ४ गते मङ्गलबारदेखि ५ दिनसम्म लाग्ने भएको छ ।
प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसँगै बन्द भएको थियो । फेरि ४ वर्ष अघिदेखि सोही स्थानको पहिचान र विकासका लागि स्थानीयको अग्रसरतामा मेला पुनः शुरु गरेका हुन् ।
स्थानीय युवाको सक्रियतामा विगत वर्षहरुमा लाग्दै आएको उक्त मेला ठुटेबर संरक्षण तथा विकास समितिले लगाउने भएको हो । मेला लगाउन चित्रबहादुर राईको अध्यक्षतामा २० सदस्यीय मूल समिति गठन गरिएको छ ।
विभिन्न ५ वटा उपसमिति गठन गरिएकाले मेलालाई व्यवस्थित हुने सचिव सोमनाथ पौड्यालले जानकारी दिए ।
स्थानीय स्तरमा उपलब्ध कृषि सामग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले बताए ।
ठुटेवरको सौन्दर्य र पहिचान संरक्षण गर्न विभिन्न लोक साँस्कृतिक कार्यक्रमहरु आयोजना गरेर मेला सम्पन्न गरिने आयोजक समितिका अध्यक्ष चित्रबहादुर राईले विश्वास व्यक्त गरेका छन् ।
मेला आयोजक समितिले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन रोटेपिङ्ग, कृषि सामग्री स्टल र स्थानीय र राष्ट्रिय पहिचान बनाएका कलाकारको प्रस्तुति रहने जनाएको छ ।
Comments