अगुवा मानवाधिकारवादी सुवेदीको निधन
Published:
by .कनकाई । मानवाधिकार रक्षाको अभियानमा लामो समय क्रियाशील झापाको कनकाई नगरपालिका लक्ष्मीपुर निवासी लालाराज सुवेदीको ६६ वर्षको उमेरमा गएराति निधन भएको छ ।
राजधानी काठमाडौंमा बसेर उपचाररत सुवेदीको निधनपछि पार्थिव शरीरलाई आज अपरान्ह झापा ल्याउने तयारी भइरहेको उनका नाति रोशन सुवेदीले जानकारी दिएका छन् ।
मानव अधिकार अभियानका अग्रज ब्यक्तित्व, समाजसेवी तथा मानव अधिकार रक्षक परिषदका सल्लाहकार रहेका सुवेदीको असामयिक निधनप्रति सामाजिक सञ्जालमा शोक व्यक्त हुन थालेको छ ।
प्राप्त जानकारी अनुसार सुवेदीको पार्थिव शरीरलाई आज अपरान्ह ४ बजे लक्ष्मीपुरमा ल्याइँदैछ । भोलि दिउँसो कनकाई माईमा सुवेदीको दाहसंस्कार गरिने नाति रोशन सुवेदीले बताए ।
वि. सं. २००९ सालमा जन्मिएका सुवेदी मानव अधिकार अभियानका अग्रज ब्यक्तित्व तथा समाजसेवी थिए । उनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।
Comments