भब्य सहभागितामा कर्णाली साकोसको साधारणसभा
Published:
by .बिर्तामोड । एक नम्बर प्रदेशका सांसद एकराज कार्कीले झापाको कर्णाली साकोसले सदस्यको स्वास्थ्य उपचारमा गरिरहेको प्रशंशनीय कामको चर्चा गर्दै सुलभ दरमा स्वास्थ्य सेवा दिनेगरी अस्पताल सञ्चालन गर्न सुझाब दिएका छन् ।
सहकारी ऐन २०७४ ले हरेक सहकारी संस्थाले उत्पादन वा सेवा क्षेत्रमा लगानी बढाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि विशिष्ट सहकारी गठन गर्न सकिने प्रावधानको उपयोग गरी सहकारी अस्पताल सञ्चालका लागि सुझाव दिएका हुन् ।
कर्णाली साकोसको १८औं वार्षिक साधारणसभाको प्रमुख अतिथि बनाइएका प्रदेश सांसद कार्कीले आफ्नो मन्तब्यमा पैसा किन्ने र बेच्नेमात्रमा सहकारी केन्द्रित भएकाले उत्पादन वा सेवाको क्षेत्रमा हात हाल्न भनेका हुन् । सदस्यहरुलाई सहकारीबाट ऋण लिन र तिर्न बैंकमा भन्दा सहज भएकाले नेपालमा सहकारी अभियानले सफलता प्राप्त गर्दै रहेकाले सदस्यहरुले पनि आफ्नो आम्दानीलाई सहकारीमा नै बचत गरेर कारोबार गर्नुपर्ने सांसद कार्कीको भनाई छ ।
साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवरले सहकारी अभियानका लागि झापा उर्वर भूमि रहेको सुनाउँदै सहकारीका माध्यमबाट आफ्ना सदस्यलाई उद्यमशील बनाउन सबैको रचनात्मक सोच हुनुपर्ने धारणा राखिन् । उनले एकै प्रकृतिका सहकारीमा सदस्यता दोहोरिनु संस्था र सदस्य दुवैको हितमा नरहेकोले सकेसम्म एउटै सहकारी संस्थामा कारोबार गर्न आग्रह गरिन् ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सचिव भूपाल बस्नतेले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले आफ्ना धारणा राखेका थिए ।
झण्डै २३ सयजना शेयर सदस्यको सहभागितामा आयोजित साधारणसभाको उद्घाटन समारोमा संस्थाको सामाजिक सेवा कार्यअन्तरगत सदस्यहरुको आर्थिक सहयोगमा उपचार पाएर हिंडडुल गर्न सक्ने भएका झुमादेवी राजवंशी र निर्मला राईलाई उपस्थित गराएर विगतदेखि वर्तमानसम्मको अवस्था चित्रण गरिएको थियो । यस्तै, रुखबाट लडेर घाइते भएकी हल्दिबारी गाउँपालिका ३ मंगलबारेकी विपना लिम्बूलाई पनि उपचार सहयोग वापत संस्थाले २० हजार रुपैयाँ प्रदान गरेको छ ।
यसैगरी, संस्थामार्फत् एलआइसी बीमा कम्पनीमा तीन लाख रुपैयाँको जीवन बीमा गराएका पवित्रा यादवका श्रीमानको असामयिक निधन भएकाले तीन लाख १४ हजार ११२ रुपैयाँ बीमा रकम पनि साधारणसभामा नै भुक्तानी गरिएको छ ।
साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले संस्थाका शेयर सदस्यबाट दैनिक दुई रुपैयाँ ७५ पैसा संकलन गरेर १० लाख रुपैयाँसम्म उपचार खर्च व्यहोरिने कार्ययोजना बनाइएको जानकारी गराए ।
लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बिस्तार गर्ने योजना सुनाए । झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव टेबुल गरिएको हो ।
सहकारी संस्थाको मजवुती नियाल्ने औजार जगेडा लगायतका अन्य कोषहरुमा २२ करोड १० लाख ३० हजार रुपैयाँ मौज्दात रहेको कर्णाली साकोसले गत आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रममा मात्र ४७ लाख २४ हजार खर्चिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तमा संस्थासँग १७ करोड ८३ लाख ४ हजार रुपैयाँ शेयर पूँजी रहेको छ भने ५६ करोड ७० लाख ५० हजार रुपैयाँ निक्षेप मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।
सम्भवतः सहकारी क्षेत्रमै पहिलो पटक कर्णाली साकोसले आफ्ना शेयर सदस्यका छोराछोरीमध्ये ८ जना मेधावी छात्रछात्रालाई ५० हजार रुपैयाँका दरले यसै वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा भएको छ । प्राविधिक विषय अध्ययन गर्ने ११–१२ कक्षाका ४ जना र स्नातक तहका ४ जना मेधावी छात्रछात्राले आगामी पुस ४ गते संस्थाको स्थापना दिवसमा छात्रवृत्ति पाउने भएका हुन् ।
कर्णाली साकोसले यसै वर्षदेखि सुरु हुनेगरी हरेक वर्ष २० जना युवालाई उद्यमशील र स्वरोजगार बनाउने अर्काे योजना पनि सार्वजनिक गरेको छ भने स्थानीय सरकारसँगको साझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
Comments