Sajhamanch Archive

सिद्धिखोला सिंचाई आयोजनामा समिति र स्थानीयवासीबीचको विवाद अन्त्य गर्न सुझाव

Published: in राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता समिति बाहुनडाँगीको उपभोक्ता समिति र स्थानीयबासीबीचको विवादलाई अन्त्य गर्न जनप्रतिनिधि र सामाजिक अगुवाहरुले सुझाव दिएका छन् ।

शनिबार सम्पन्न समितिको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष हरि चम्लागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उपभोक्ता समिति र स्थानीयबासीबीच विवाद भएका कारण यसै साधारणसभाबाट निर्णय गर्ने प्रस्ताव अघि सारेपछि कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समस्याको मुख्य कारण खोजेर आपसमा छलफल गरी समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

शाखा नम्बर ७ को मुहान सारेको विषयलाई लिएर स्थानीयबासी र उपभोक्ताहरुबीच विवाद भएको अध्यक्ष चौलागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष चौलागाईँले यसै साधारणसभाबाट निर्णय गर्नुपर्ने भन्दै विवादका सम्बन्धमा योसहित अन्य चारवटा प्रस्ताव पेश गरेका थिए ।

संस्थाको शाखा नम्बर ७ मा शाखा र प्रशाखा निर्माणमा विवाद भएर सञ्चालन भएको शाखा पनि विवादकै कारण एक वर्षदेखि बन्द रहेको सचिव डिकेन्द्रकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सो शाखाको विवादलाई दीर्घकालिनरुपमा समाधान गरी उपभोक्तालाई सहज ढंगले पानी वितरण गराउने र विवाद समाधान समिति गठन गरी समस्या हल गर्नसमेत समितिले साधारणसभा समक्ष प्रस्ताव पेश गरेको छ ।

‘४८ करोड रुपैयाँ खर्च गरेर यहाँसम्म आएको गौरवको योजना आपसी विवादका कारण भोलि गएर अलपत्र त पर्ने होइन चिन्ताको विषय बनेको छ’ कार्यक्रमका प्रमुख अतिथि रहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले भने ‘स्थानीय सरकार भएको हैसियतले यति ठुलाू संस्था संकटमा परेमा वा कुनै समस्या आए नगरपालिकाले पनि कहाँ समन्वय गर्नुपर्छ त्यो भूमिका निर्वाह गर्न तयार रहेको’ बताए ।

संस्थामा देखिएको समस्या समाधनका लागि नगरपालिकाका तर्फबाट प्रदेश तथा संघीय सरकार, विभिन्न विज्ञहरुसँग बसेर छलफल तथा अभिभावकको जिम्मेवारी पूरा गर्ने नगरप्रमुख आचार्यले प्रष्ट पारे । अहिलेसम्म संस्थाले मेचीनगर नगरपालिकासँग कुनै समन्वय नगरेको तर, संस्थालाई नगरपालिकाको तर्फबाट साथ सहयोग रहने नगर प्रमुख आचार्यले विश्वास दिलाएका थिए ।

नेपाल कृषिप्रधान मुलुक भएका कारण यहाँका अधिकांश मानिसको मुख्य पेशा कृषि भएको चर्चा गर्दै नगरप्रमुख आचार्यले सिंचाई कृषिका लागि अपरिहार्य भएकाले करोडौंको लागानीलाई प्रयोगमा ल्याएर यसबाट नगरका सयौं किसानलाई लाभ दिनुपर्ने बताए । यो नहरलाई गुमाउनुभन्दा पनि बचाउन र व्यवस्थित गर्न सवै जिम्मेवार बन्नुपर्नेमा नगरप्रमुख आचार्यले जोड दिए ।

कार्यक्रममा नगर उप्रमुख मिना पोखरेल उप्रेतीले संस्थामा एक आपसमा विवाद भए अघि बढ्न नसक्ने भन्दै तत्काल सबैपक्ष एक ठाउँमा बसेर मिलाउन समिति र उपभोक्तालाई आग्रह गरिन् । विवादले संस्था अघि बढ्नुको साटो आरोलो लाग्ने भएकाले त्यसतर्फ सचेत रहनसमेत उपपप्रमुख उप्रेतीले सुझाव दिइन् ।

‘भरिसक्के तपाइँरुबीचको विवाद आपसमा बसेर मिलाउनुहोस्’ नगर उपप्रमुख उप्रेतीले भनिन् ‘यहाँ मिलाउन सक्नुहुन्न भने नगरपालिकामा लिएर आउनुहोस ।’ विवादमात्र झिक्ने र सधैं यसैमा अल्झिरहने हो भने कसैको हित नहुने र बजेट पनि विनियोजन नहुने हुँदा समस्याको समाधानतर्फ लाग्न उनको सुझाव थियो ।

मेचीनगर वडानम्बर २ का वडाध्यक्ष तिलक न्यौपानेले यस्तो विवाद बाहिर आउनु राम्रो कुरा नभएको भन्दै संस्था भित्रका असहमति र असंन्तुष्टीलाई भित्रै बसेर समाधान खोज्न आग्रह गरे ।

नेपाल सरकारका तत्कालीन मुख्य सचिव डा. भोजराज घिमिरेको पहलमा २०६२ सालदेखि सो सिंचाई आयोजनाको निर्माण शुरु भएको थियो । इलामको सिद्धिखोलाको पानीलाई जिर्मलेको केही भूभाग सिंचाई गर्दै साविक बाहुनडाँगी गाविसको वडा नं. ५ बाहेकका ८ वटा वडाहरुमा सिंचाई पुर्याउने लक्ष्य छ ।

हाल मेचीनगर नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा १ हजार ७०० हेकटर जमिनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ नेपाल सरकारको योजनामा सिंचाई आयोजना थालनी गरिएको अध्यक्ष चौलागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएको छ ।

अध्यक्ष चौलागाईँको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मेघराज खड्काले र सञ्चालन सचिव डिकेन्द्र थापाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *