पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै
Published: (Updated: )
by .भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत भद्रपुरको मेची बगरमा पहिलोपटक बीच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ ।
भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले भद्रपुर नगरको चलयमान स्वरूप स्थापित गर्न खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको छ ।
५ नम्बर वडा मेची नदीको किनारै किनारले घेरेको वडा भएको जानकारी दिँदै वडाध्यक्ष बन्धु कार्कीले ‘विदेशमा नदीको किनारलाई उपयोग गरेर धेरै आम्दानी लिइरहेको रचनात्मक अभियानबाट प्रभावित भएर खेल आयोजना गरेको बताए । उनले खाली रहेको मेची किनारको बगरलाई उपयोग गर्न सक्ने धेरै सम्भावना भए पनि नसकिएकोले केही दिनका लागि भए पनि बगर उपयोगमा बालुवामा गरिएको महत्वपूर्ण हुने प्रष्ट्याए ।
भद्रपुर नगरपलिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले यस्ता प्रतियोगिताले नगरलाई जीवन्त राख्न मद्दत पुग्ने धारणा राखिन् । उनले ‘नदी किनारमा गर्न लागिएको भलिबल प्रतियोगिता नयाँ खालको कार्यक्रम भएको दाबी समेत गरिन् । खेलमा नगरपालिका कार्यालयको भरपुर साथ र सहयोग रहने प्रतिबद्धता उपप्रमुख श्रेष्ठले व्यक्त गरिन् ।
प्रतियोगितामा भद्रपुर नगरपालिकाका १० वटै वडाको सहभागिता रहने छ भने प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार, द्वितीयले १५ र तृतीयले ८ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
कार्यक्रममा अग्रज पत्रकार नकुल काजी, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल लगायतले सुझावसहितको मन्तव्य राखेका थिए ।
Comments