Sajhamanch Archive

सिटिएफ नेपाल बिर्तामोडमा बालमैत्री सिकाई अभ्यास तालिम (भिडियोसहित)

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल करियर ट्रेनिङ फाउण्डेसन (सिटिएफ नेपाल) बिर्तामोड शाखाले निजी विद्यालयका कोअर्डिनेटर र इन्चार्जहरुका लागि दुई दिनको कार्यशाला शनिबार सम्पन्न गरेको छ ।

झापाको मेचीनगर, बिर्तामोड, अर्जुनधारा, कनकाई र शिवसताक्षी नगरपालिका क्षेत्रका ४० वटा विद्यालयबाट सहभागी कोअर्डिनेटर र इन्चार्जहरुलाई विषयगत एवम् व्यावसायिक सीप प्रदान गरिएको हो ।

कार्यशालामा सहभागी कोअर्डिनेटर र इन्चार्जहरुलाई शैक्षिक व्यवस्थापन कसरी गर्ने, शिक्षक र कर्मचारीहरुको व्यवस्थापन, निगरानी तथा मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरिएको शाखा प्रमुख रोशन पौडेलले बताए ।

तालिममा कमजोर विद्यार्थीको शैक्षिकस्तर कसरी माथि उकास्ने, बालमैत्री विद्यालय कसरी बनाउने, अभिभावकलाई आफ्नो विद्यालयप्रति कसरी सकारात्मक बनाउनेजस्ता विषयमा प्रयोगात्मक अभ्याससहित सहजीकरण गरिएको सिटिएफ नेपाल बिर्तामोडका सञ्चालक अस्मिता नेपालले जानकारी दिइन् ।

सिटिएफ नेपालका वरिष्ठ प्रशिक्षक तथा प्रदेश १ का निर्देशक बिनोद कार्कीले २१औं शताब्दी अनुकूल व्यवहारिक शिक्षा प्रदान गर्ने हेतुले स्थापित सिटिएफ नेपाल मुलतः शैक्षिक तालिम केन्द्र रहेको बताए ।

बालमैत्री शिक्षण विधि मन्टेश्वरी पद्धतिका बारेमा बेलायतमा अध्ययन गरेका कार्कीले विगत १२ वर्षदेखि सिटिएफ नेपालको माध्यमबाट मुलुकका ४० वटाभन्दा बढी जिल्लाका शिक्षकहरुलाई यस्तो तालिम दिइसकेका छन् ।

सिटिएफ नेपाल बिर्तामोड शाखाका प्रमुख रोशन पौडेलले आधुनिक समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो संस्थाले मन्टेश्वरी शिक्षक तालिम, विद्यालय परामर्श कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, शिक्षक तालिम उत्प्रेरणा कार्यक्रम र आदर्श मातृत्व तालिम कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी गराए ।

नेपाल सरकार, शिक्षा मन्त्रालय मातहत सिटीइभिटीबाट मान्यताप्राप्त प्रमाणपत्र प्रदान गरिने भएकाले मन्टेश्वरी शिक्षक तालिम लिएका जनशक्तिले बेरोजगार बन्नु नपरेको पनि पौडेलले सुनाए ।

शनिबार सम्पन्न तालिमका महिला सहजकर्ताहरुले सहभागी विद्यालयका कोअर्डिनेटर र इन्चार्जहरुलाई विभिन्न खेल विधिबाट बालमैत्री सिकाईको अभ्यास गराएका थिए ।

(हेर्नुहोस् भिडियो रिपोर्ट)

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *