Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौ । युनिभर्सल पिस फेडरेशन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।
एसिया प्यासिफिक सम्मेलन–२०१८ को आज सम्पन्न अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेकोमा प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न तत्कालै सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे । सो अवसरमा आफ्नो मन्तब्यमा प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताए । उनले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको पनि जिकिर गरे ।

“सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन” उनले भनेका छन्, “हामीले संविधान मै आवधिक निर्वाचन, कानूनको सम्मान र कानूनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।” प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोग लगायतका विषयमा पनि हुन सक्ने बताए । “तर, सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ” उनले भने ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपील पनि गरे । “जनप्रतिनिधि धब्बा लाग्ने हुनुहुँदैन, जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ,” प्रधानमन्त्रीले भनेका छन्, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।” लोकतन्त्र नै राम्रो व्यवस्था भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको पनि दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *