Sajhamanch Archive

कोच समुदायको जातीय परिकारमा रमाउँदै

Published: in राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बास्थित टेकनारायणबारीमा शनिबार भारतका विभिन्न स्थान साथै नेपालका कोच समुदायको जातीय परिकार खाँदै सयौ व्यक्तिहरु रमाएका छन् ।

कार्यक्रममा सहभागी सबैले केराको पातमा कोच परिकारहरु भाका, पिठो, सिदल, दोर्कोच, कपा, कोचुडान्डी खाँदै गरेको देखियो । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच इन्टरनेश्नलको एउटा विशेष कार्यक्रमको दृश्य हो यो । इन्टरनेशनल कोच कल्चरल फुड फेस्टिभलका प्रतियोगीहरुले बनाएका परिकारहरु कार्यक्रममा उपस्थित सबै पाहुनाले मिठो मानीमानी कोच परिकारको स्वाद लिएका थिए ।

कार्यक्रममा सहभागी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले भाकाको स्वाद लिँदै यस्ता कार्यक्रमले कोच समुदायलाई संसारभर चिनाउन मद्धत गर्ने बताए । त्यस्तै पत्रकार बिनोद पाण्डे कोच परिकारहरुको स्वाद लिदै फुड फेस्टिबल कार्यक्रमले कोच समुदायको संस्कार, संस्कृति जोगाउन मद्धत पुर्याउने बताउँछन् । कार्यक्रममा सहभागी बिर्तामोडका ब्यावसायी हरि धिमालले यो कार्यक्रम कोच समुदाय भित्र उदाहरणीय भएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बिहानैदेखि नेपालका प्रतियोगीहरुले भाका, पिठ, पेल्कासाक, सुकाती साक, फोक्दोई र दर्कच बनाएका थिए । यस्तै आसामका प्रतियोगीहरुले माछपोडा, सुकान, पिठा र मेघालयका प्रतियागीहरुले चिकन खप्पा परिकार बनाएका थिए । उक्त कार्यक्रममा एशियाभर छरिएर रहेका कोच समुदायको भाषा, संस्कार, संस्कृति, खानपान, भेषभूषा, जातीय नृत्य, फोटो प्रदर्शनीसमेत गरिएको थियो । कोच समुदायका युवतीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले झापा मिडिया हाउसले आयोजना गरेको मिस कोच इन्टरनेशनल प्रतियोगिता अन्तरगत अहिले प्रशिक्षण जारी छ । प्रतियोगितामा भारतको आसाम, मेघालय, उत्तर बंगालसहित नेपालका झापा, मोरङ, सुनसरीका युवतीहरु सहभागी छन् ।

कनकाई नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम राजवंशीको सभापतित्व तथा नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाइसहित नगरपालिकाका प्रायः वडाध्यक्षहरु सहभागी थिए । कार्यक्रममा कोच समुदायका इतिहास जानकारहरु पानीलाल राजवंशी, दलसिङ राजवंशी, पर्शुराम राजवंशी, आसिनलाल राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशीलगायत उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *