Sajhamanch Archive

झापाका सबै स्थानीय तह आजदेखि खुल्ला दिसामुक्त क्षेत्र

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने मार्ग प्रसस्त भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका आज बिहीबार खुल्ला दिसामुक्त घोषणा भएका हुन् ।

सरसफाई गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समन्वयमा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियानमा सहयोग गरेका थिए । सोहीक्रममा साविकका पाँच गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेका थिए । २०७४ वैशाखदेखि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविकका २१ गाविस र ६ नगरपालिकामा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए । साविकका ३ गाविसमा फण्ड बोर्डको सहयोगमा अभियान अघि बढाइएको थियो ।

यस क्रममा झापा जिल्लामा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ । स्थानीय तह पुनःसंरचनाको क्रममा बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेको थियो । बाँकी सबै स्थानीय तह पछिल्लो १६ महिनाको अवधिमा खुल्ला दिसामुक्त घोषणा भएका हुन् । झापा जिल्ला पूर्ण सरसफाई युक्त जिल्ला घोषणा हुने पूर्वसन्ध्यामा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाले प्रेस नोट जारी गरी सम्पूर्ण सहयोगी संघसंस्था, निकाय र समुदायप्रति आभार व्यक्त गरेको छ ।

“हामी निर्वाचित भएर आउँदा झापा जिल्लामा ३६ हजारभन्दा बढी घरधुरीमा चर्पी निर्माण गर्न बाँकी थिए” जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलद्वारा जारी प्रेसनोटमा भनिएको छ, “तत्कालको बाढी र डुबान, चाडपर्व र संघीय तथा प्रदेशसभा निर्वाचन हुँदैगर्दा समेत चर्पी निर्माण र सरसफाई प्रवद्र्धनको गति कम हुन नदिई स्थानीय तहले सार्थक नेतृत्व लिएका कारण झापा जिल्ला आज खुल्ला दिसामुक्त अवस्थामा पुग्न सफल भएको हो ।”

अभियानको नेतृत्व गर्ने जनप्रतिनिधि, कुशलतापूर्वक प्राविधिक एवम् प्रक्रियागत सहजीकरण गर्ने साझेदार संस्थाहरु, अभियानलाई स्थानीयकरण गर्न सघाउने सम्पूर्ण सामाजिक अगुवाहरु, सरसफाई सवाललाई स्थापित गर्न अहम् भूमिका खेल्ने सञ्चार क्षेत्र, कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, सुरक्षा निकाय, शिक्षा क्षेत्र लगायत सबै सहयोगीहरुप्रति उक्त प्रेसनोटमार्फत् आभार व्यक्त गरिएको छ ।

निरन्तर सहजीकरण हुन सकेमा कठिन मानिएका ठाउँसमेत छिटो खुल्ला दिसामुक्त हुन सकेको दृष्टान्त प्रस्तुत गर्दै खुल्ला दिसामुक्त अभियानमाजस्तै पूर्ण सरसफाई अभियानमा समेत सहयोग र सहजीकरण जारी राख्न सम्पूर्ण विकास साझेदारहरुमा अनुरोध गरिएको छ ।
यसैबीच, सम्पूर्ण स्थानीय तहहरु खुल्ला दिसामुक्त घोषणा भएसँगै जिल्ला खुल्ला दिसामुक्त भएको प्रेस नोटमा उल्लेख छ । “विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकोले हामीले तयारी गरेअनुसार मंसीर २८ गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्न सकेनौं”, प्रेस नोटमा उल्लेख छ । प्रदेशस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिबाट जिल्लाको अन्तिम गुणस्तर अनुगमन र स्वीकृतिपश्चात् छिट्टै जिल्लाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *