कमल गाउँपालिकाले अगुवा कृषकलाई दियो कृषि औजार
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकाले आज अगुवा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार वितरण गरिएको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनाइएको हो ।
गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका कृषकहरुलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन तथा कृषिको क्षेत्रमा लाग्न थप मद्धत पुगोस भन्ने उद्देश्यले कृषि औजार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताइन् ।
गाउँपालिकाले अगुवा तथा व्यावसायिक खेतीमा अग्रसर किसानहरुलाई १०० प्रतिशत अनुदानमा ५० थान साना सिंचाई विद्युतीय मोटर, ५० प्रतिशत अनुदानमा १० थान पावर टिलर मेसिन, ५० प्रतिशत अनुदानमा मकै रोप्ने मेसिन र ५० प्रतिशत अनुदानमा १० थान मकै छोडाउने मेसिन प्रदान गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले दिएको जानकारी अनुसार गाउँपालिकाले पशुपालन तर्फ गाईपालनका २२, कुखुरापालन तर्फ ४३, बंगुरपालन तर्फ २३ र बाख्रापालन तर्फ ४ जनालाई पनि अनुदान प्रदान गरिएको छ ।
कमल गाउँपालिका अहिले कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका साथै औद्योगिकरण गर्नमा लागिपरेकोले कृषिमा श्रम र समय खर्च गरिरहेका कृषकलाई आज प्रदान गरिएका कृषि औजारहरुले सहयोग पुर्याउने ठानेर अनुदानमा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटीले बताए ।
गाउँपालिका कृषि विकास शाखाका संयोजक नरप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकामा रहेका कृषक समूह, पशुपालन समूहलगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
Comments