चक्रवर्तीको नेतृत्वमा आएका पत्रकारहरुले नेपालको पर्यटकीय क्षेत्रको डकुमेन्ट्री बनाउने
Published:
by .मेचीनगर । झापा र इलामको पर्यटकीय स्थलको अध्ययनका लागि भारतीय सञ्चारकर्मीहरुको टोली झापा आएको छ । कोलकाता प्रेस क्लबका वरिष्ठ सदस्य एवम् प्रजाशक्ति दैनिक पत्रिकाका सन्दीय चक्रवर्तीको नेतृत्वमा तीन सदस्यीय टोली झापा आएको हो ।
कोलकातामा रहेर पत्रकारिता गरिरहेका भारतीय पत्रकारहरुको भ्रमण टोलीमा त्यहाँको सरकारी सञ्चारमाध्यम दूरदर्शन र अल इण्डिया रेडियोमा कार्यरत अभिजित चक्तवर्ती र द इकोनोमिक्समा कार्यरत श्रावणी बेनर्जी रहेका छन् ।
जिल्ला ट्राभल संघ झापाले नेपाल आइपुगेका तीन भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गर्नुका साथै पर्यटन व्यवसायी र नेपाली पत्रकारबीच परिचयात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघका अध्यक्ष निरबहादुर कार्कीले काँकरभिट्टा नाकाले भुटान, भारत र बंगलादेशलाई जोडेको र यी ठाउँमा पर्यटनका प्रचुर सम्भावना रहकाले पर्यटकलाई आर्कषण गर्न सक्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
भारतीय टोली नेता चक्रवर्तीले झापा तथा इलामको सीमा क्षेत्रमा पर्ने सलकपुरको होमस्टे र पर्यटकीय सम्भावनाको स्थलगत अवलोकन गर्ने विशेष कार्यक्रम लिएर नेपाल आएको बताए । उनले नेपाल र भारतको उद्योग व्यवसायलाई समेत पर्यटनसँग जोड्न सकिने जिकिर गरे । दुवै देशका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीबीच सूचना आदान प्रदान गर्नु अत्यावश्यक रहेको उनको भनाई थियो ।
चक्रवर्तीले नेपाली पर्यटनका विषयमा सकरात्मक रिपोर्ट र डकुमेन्ट्री तयार पारेर नेपालको पर्यटनक्षेत्रको प्रवद्र्धन र विकासमा सघाउने धारणा व्यक्त गरेका छन् । उनले विश्वको सर्वाेच्च शिखर सगरमाथासमेत रहेकोले पूर्वी नेपाल विश्वकै सवैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । भारतका विभिन्न ठाउँबाट नेपाल घुम्न आउने पर्यटकले नेपालको तुलनामा बास बस्न तथा खानपिनका लागि आर्थिकरुपमा भारत नै सस्तो भएको भन्दैं भारतकै लज तथा होटलमा रात बिताउने गरेको भारतीय टोलीको भनाई छ ।
कार्यक्रममा नेपाली पर्यटन व्यवसायी तथा जिल्ला ट्राभल संघ झापाका प्रमुख सल्लाहकार संयोजक शंकर भटट्राई, अध्यक्ष निरबहादुर कार्की, देही आर्टका प्रमुख चित्रकार छितेन शेर्पालगायतले नेपालका पर्यटकीय गन्तव्यका वारेमा भारतीय टोलीलाई जानकारी गराउनु भएको थियो ।
संघका अध्यक्ष कार्कीका अनुसार भारतीय पत्रकारहरुको टोली मेचीनगरको बाहुनडाँगी हुँदै सलकपुर, इलामको कन्याम, सन्दकपुर र झापाका केही पर्यटकीय क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्ने छ ।
Comments