कालिकापीठबाट शिक्षासेवी ढुङ्गाना दम्पत्तीसहित ९ जना सम्मानित
Published:
by .अर्जुनधारा । अर्जुनधारा–९ स्थित कालिस्थान सिद्ध शक्तिपीठको १५औं वार्षिक अनुष्ठान अन्तर्गत श्रीमद्पद्ममहापुराण, धान्यलक्ष्मीपूजन, रुद्राभिषेक हवनादि महायज्ञ आजदेखि शुरु भएको छ । अनुष्ठानको समाजसेवी राजकुमार पोखरेलले १५ वटा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिदिएका छन् ।
अनुष्ठानको उद्घाटन कार्यक्रममा समाजसेवी पोखरेलले मानवले धर्मको रक्षा गर्नसके धर्मले सबै समुदायको रक्षा गर्ने धारणा राखेका छन् ।
अनुष्ठान समुद्घाटनको अवसरमा शिक्षा, समाजसेवा र धार्मिक क्षेत्रमा क्रियाशील जयनारायण ढुङ्गाना र उनकी पत्नी अन्जना ढुङ्गानालाई वर्षोत्कृष्ट नागरिकका रुपमा सम्मान गरिएको छ ।
यसैगरी कालिकापीठको संरक्षण सवद्र्धन र विकासमा सहयोग पुर्याउने दाताहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने जनकपुर निवासी प्रमोद गोयङ्काले कालिकापीठमा श्रवणहलको माथिल्लो तल्लामा अतिथि आवास तथा सयजना बढी बसेर सत्सङ्ग गर्न सकिने हल ४१ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण गरिदिएका छन् ।
यसैगरी कालिकापीठमा रहेका गाईको आहाराका लागि निरन्तर सहयोग गर्दै आएका ब्यवसायी उमेश डालमियालाई सम्मान गरिएको छ । यसैगरी अर्जुनधारा–१० निवासी योगनाथ–देवी पोखरेल र टङ्कनाथ–कमला पोखरेललाई सम्मान गरिएको छ । पोखरेल परिवारले आफ्ना दिवंगत पितृहरुको स्मृतिमा पीठ परिषरमा नवग्रह मन्दिर निर्माण गरी नवग्रह देवताका प्रतिमा प्रतिष्थापन गरिदिएका छन् ।
सम्मानित सबैलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरेका थिए भने पीठका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल तथा पदाधिकारीले दोसल्ला र नेपाली टोपी पहिर्याएर सम्मान गरेका थिए । आगामी पुस १३ गतेसम्म सञ्चालन हुने नवाहब्यापी अनुष्ठानको समुद्घाटन समारोहमा सम्मानित ब्यक्तित्व जयनारायण ढुङ्गाना, प्रमोद गोयङ्का, कार्यक्रमका विशेष अतिथि तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, अर्जुनधारा वडा नं १० का वडाध्यक्ष तथा पीठका सल्लाहकार बलदेव गोम्देनलगायतले मन्तब्य राख्दै धर्मको रक्षा र दानशिलताले मानिस अनुशासित हुने र अनुशासनले मानवको उन्नति एवम् प्रगतिमा सघाउ पुग्ने धारणा राखेका थिए ।
कालिकापीठका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कर्णबहादुर तामाङले स्वागत तथा पीठको ऐतिहासिक पृष्ठभूमि र भावी कार्यदिशाबारे उपाध्यक्ष लक्ष्मी मिश्रले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन इन्दू पूर्वेलीले गरेकी थिइन् ।
नवाहब्यापी श्रीमद्पद्ममहापुराणको प्रवक्ता आचार्यद्वय रघुनाथ रिजाल र यदुनन्दन भारद्वाज रहेका छन् ।
Comments