Sajhamanch Archive

तराइ मधेसका समस्या समाधान गर्न सकारात्मक छु : प्रम ओली

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका समस्या समाधान गर्न आफू सकारात्मक रहेको दोहोर्याएका छन् । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो कुरा स्मरण गराएका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राजपा र संघीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

“जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्” प्रधानमन्त्री ओलीले नेताहरुलाई भनेका छन् “हामीले सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेसको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।”

प्रधानमन्त्रीले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको पनि दोहोर्याएका छन् । “अब हिजो कै विषयमा बादविवाद गरेर हुँदैन, नयाँ ढंगले सोचौं । नयाँ ढंगले अघि बढौं” प्रधानमन्त्री दृढ अडान थियो ।

राजपाले उठाएका कतिपय मागहरुमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्रीसँगको भेटमा राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *