Sajhamanch Archive

हडिया रेगुलेटरको भवन बनाउन सुवेदीले दिए जमिन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय निर्माणका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा प्रदान गरेका छन् ।

संस्थाको आफ्नै सचिवालय नभएकाले काम गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन निर्माण गर्ने बताइएको छ । सुवेदीले उपलब्ध गराएको जमिनसम्म जाने बाटो निमार्णका लागि स्थानीय चुडामणि सुवेदी र कृष्ण ओझाले पनि केही जमिन उपलब्ध गराएका छन् ।

भवन निर्माण हुने भएपछि CMISP-AF कार्यक्रमका तर्फबाट केही रकम विनियोजन भएको छ भने उपभोक्तासहित स्थानीय तहहरुले पनि भवन निर्माण कार्यमा सहयोग गर्ने जनाएका छन् । दुईतले पक्की भवनमा सुविधा सम्पन्न सचिवालय आगामी आर्थिक वर्ष भित्र निर्माण गर्ने लक्ष्य लिइएको संस्थाका सचिव अनिल ढुंगानाले बताएका छन् ।

३५० हेक्टरभन्दा बढी जमिन सिंचित हुने आयोजनाबाट करिब ५०० परिवार कृषकहलाई प्रत्यक्ष लाभ हुनेछ । स्थानीय स्तरमा आयोजनाको रेखदेखका लागि हडिया रेगुलेटर जल उपभोक्ता संस्था क्रियाशील रहेको छ भने यसको मातहतमा विभिन्न ६ वटा कृषि सिंचाई समूहहरु गठन गरिएको छ ।

विभिन्न समयमा कृषकहरुलाई तालिम दिन, गोष्ठी सञ्चालन गर्न, मल बीऊको भण्डारण तथा वितरण गर्न र संस्थाको दैनिक गतिविधि सञ्चालन गर्न भवन उपयोगी हुने अध्यक्ष शंकर पोखरेलले जनाएका छन् ।

एसियाली विकास बैंकको लगानीमा निर्माणाधिन अयोजनाको निगरानी डिभिजन सिंचाई कार्यालय भद्रपुरमार्फत भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *