Sajhamanch Archive

झापा सदरमुकाममा सडक र टेलिफोनका उपभोक्ता आन्दोलित

Published: in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । हुलाकी सडक अन्तर्गत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको वीपी चौक दक्षिण क्षेत्रमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेका कारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ ।

सडक निर्माणको अवधिमा वीपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबन्ने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डा खुल्डीले यात्रा जोखिम बढाएको, सडक निर्माण जिम्मा लिएको कम्पनीले सडक लथालिङ्ग बनाएर वेवास्ता गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै छिटो निर्माण पूरा गर्न दवाव दिँदै सडक अवरोध गरिएको बताइएको छ ।

निर्माण ठेकेदारले नाली खन्ने र सडक सम्याउने काम अन्य स्थानमा गरेको भए पनि नेपाली सेनाले ओगटेको ५०० मिटर क्षेत्रमा नगरेको, खाल्डाखुल्डीले सडक दूर्घटना बढेको, आसपास बनाइएका सडक नाली तथा कल्भर्टका काम गुणस्तरहीन भएको, सडक निर्माणको सम्झौता अनुसार प्रारम्भिक ग्राभेलिङ नगरेको स्थानीयको भनाई छ ।

आसपासका बासिन्दालाई असर पार्ने धुलो नियन्त्रणको संम्झौता पालना नगरेकोमा वीपी चौक दक्षिण चन्द्रगढीका स्थानीयले सडक अवरोध गर्दा उत्तर दक्षिण यातायात दिनभर बन्द भएको छ । बन्दका कारण विद्यालयका गाडी, एम्बुलेन्स लगायत सार्वजनिक सवारीका साधनले अर्को बाटो घुमेर गन्तब्य तय गर्नु परेको थियो ।

सो क्षेत्रमा पटक पटक स्थानीयले सडक निर्माण छिटो सक्न दबाव दिँदै आए पनि निर्माण ठेकेदारले वेवास्ता गरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको संघर्षमा उत्रिएका स्थानीयको भनाई छ । भइरहेको सडक निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकेकोले समस्या बढिरहेको स्थानीयको बुझाई छ । सरकारले नेपाली सेनाले ओगटेको जमिनबाट सडक विस्तारको क्षेत्र लिन नसकेका कारण ८०० मिटरमा हुलाकी सडक परियोजनाले काम गर्न नसकेको जनाइएको छ ।

नेपाली सेनाको बाहना बनाएर वि सं. २०२८ सालदेखिको मूल सडक विस्थापन गर्न परियोजनाले खेल खेलेकोले सडक कायम गर्न अवरोध गरिएको स्थानीय अशोक रामले बताएका छन् । उनले यो अवरोध संकेत मात्र भएकोले समस्या हल नभए संगठित रूपमै सडकमा उत्रन आफूहरु तयार रहेको चेतावनी समेत दिइएको छ । यता सडक अवरोध खुलाउने विषयमा कुनै पनि सरोकारवाला निकायको ध्यान नजाँदा सडकमा हिड्ने यात्रु भने दिनभर मारमा परिरहेका थिए ।

यसैबीच, सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक विस्तारका क्रममा सडक पोल सार्ने बहानामा २० दिन यता टेलिफोन बिच्छेद भएको भन्दै टेलिफोन सुचारुको माग गरी भद्रपुर ८ र ९ वडाका बासिन्दाले नेपाल टेलिकमलाई ध्यानाकर्षण गराएका छन् ।

झापा कारागार पूर्वका १६ घर परिवारले उपयोग गर्दै आएको ल्याण्डलाई फोनको तार विद्युत पोल सार्ने बाहनामा चुडाइए पनि जडान नहुँदा फोन सेवा तथा इन्टरनेट सेवा विच्छेद भएको थियो । उक्त फोनलाइनको अबिलम्व मर्मत गरी सेवा सुचारु गर्न नेपाल टेलिकम चन्द्रगढीमा ध्यानाकर्षण गराइएको हो ।

टलिकम सेवाबाट विच्छेद भएका १६ परिवारले ३ दिन भित्र सेवा सुचारु नभए टेलिकमको ल्याण्डलाइन सेवा बहिस्कार गर्ने चेतावनीसमेत दिँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *