पशुपालन तथा दूध उत्पादक किसानको साधारणसभा बाहुनडाँगीमा
Published: (Updated: )
by .झापा । पशुपालन तथा दूध उत्पादक संघ झापाको प्रथम वार्षिक साधारणसाभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका वडा नं. २ बाहुनडाँगीको हात्ती रिसोर्टमा आयोजित साधारणसभाको उद्घाटन भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले गरिदिएका थिए ।
प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक लक्ष्मीप्रसाद (एलपी) सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
संघको प्रथम उपाध्यक्षमा सिता पाण्डे, द्वितिय उपाध्यक्षमा दिनेश थापा, सचिवमा चन्द्रप्रसाद सिग्देल, सहसचिवमा घनश्याम खनाल र कोषाध्यक्षमा निरज बोगटी छानिएका छन् । संघका नवनिर्वाचित सचिव चन्द्रप्रसाद सिग्देलका अनुसार पशुपालन तथा दूध उत्पादक संघ झापाका सदस्यहरुमा हरि कार्की, तुलसी ढकाल, नरेन्द्रप्रसाद गुरागाई, सुवोध ढुंगेल, लक्ष्मी दंगाल, विनोद तामाङ, ऐश्वर्या सुवेदी रहेका छन् ।
साधारणसभामा झापामा निरन्तर व्यावसायिक पशुपालनमा सक्रिय फार्म तथा कृषकहरु सम्मानित भएका छन् । अर्जुनधारा ६ मा रहेको कनकाई कृषि फार्मका सञ्चालक सुवोध ढुंगेल, मेचीनगर ४ मा रहेको बाहुनडाँगी कृषि तथा पशुपालन प्रालिका केशव सुवेदी, बाह्रदशी ३ मा रहेको हिमअतुल गाई फार्मका तुलसी ढकाललाई सम्मान गरिएको हो । यस्तै कनकाई ३ मा रहेको प्रतिक पशुपालन कृषि फार्मका सञ्चालक डण्डपाणि गौतम र दमक १० को सिद्धकाली पशुपालनका सञ्चालक डिकबहादुर कार्की तथा भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कुमारसिं खत्रीलाई सम्मानपत्रसहित ढाका टोपी ओढाएर सम्मान गरिएको हो ।
साधारणसभाको उद्घाटन समारोहमा संघका तदर्थ समितिका संयोजक सिटौलाले पशुपालन तथा दूध उत्पादक संघ झापाको गठनको उद्देश्य र संघले एक वर्षभर गरेको कामका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको जिल्ला कार्यालय बिर्तामोडमा रहेको तथा हरेक गाउँपालिका तथा नगरपालिकामा यसका शाखाहरु स्थापना भएका अध्यक्ष उप्रेतीले जानकारी दिए । संघले गत वर्षदेखि पशुपालक तथा दूध उत्पादक किसानहरुको हक हितका लागि संघर्ष गर्दै कृषकको समस्या समाधानमा विशेष भूमिका निर्वाह गर्दै आएको अध्यक्ष सिटौलाले जानकारी गराए ।
साधारणसभामा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, पशु तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का डा. लेखराज दाहालले आफ्ना धारणा राखेका थिए । संघका सदस्य सिता पौडेलले आमन्त्रितहरुलाई शब्दले स्वागत गरेको साधारणसभा कार्यक्रमको सञ्चालन संघका सचिव सिग्देलले गरेका थिए ।
Comments