Sajhamanch Archive

सुन्तलाको पकेट क्षेत्रमा नै मासिँदैछ बोट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको फिदिम नगरपालिका भित्रकै सुन्तलाका बोट मासिन थालेका छन् । अज्ञात रोगका कारण सुन्तलाको बोट धमाधम मासिन थालेको हो । नगरपालिका क्षेत्रको एक घर बराबर ५५ बोट सुन्तलाका बोटहरु हालै मासिएका हुन् ।

विगतमा यहाका सुन्तला जापानसम्म निर्यात हुन्थ्यो । तर, अब त्यो समय रहेन । फिदिम नगरपालिका ५ का कृषक याम तुम्बापोले अघिल्ला वर्षहरुमा दुई लाख रुपैयाँ मूल्यसम्ममा घरैबाट सुन्तला बिक्री गरेका थिए । तर, उनको घरका २० बोट सुन्तलामध्ये हाल १७ वटा बोट लगभग मासिएका छन् । किनकि यो वर्ष ती बोटले फल दिएनन् ।

उनले भर्खरै साना बिरुवा लगाएका त छन् तर पनि ती बिरुवा पनि रोपेको केही समय मै पात छिद्रा हुने पहेँलो हुँदै फेदैबाट सुक्ने रोगजस्ता लक्षण देखिने अज्ञात रोगको शिकार भएका छन् । फिदिम नगरपालिका २ सामदिनका कृषक देवीप्रसाद ढुङ्गाना करिव २० वर्ष अघिदेखि सुन्तला खेतीमा संलग्न छन् । विगतका वर्षमा सुन्तला बेचेर मनग्ये कमाएका उनी यो वर्ष खाली हात भए ।

‘पहिला एक सिजनमा चार लाख रुपैयाँसम्मका सुन्तला बेचियो’, ढुंगानाले भने, ‘योे वर्ष त एक रुपैयाँको पनि बेच्न पाइएन ।’ शुरुमा १२० बोट थिए, अहिले ५५ बोट मरेर झांग नै काटेर फालिदिएँ । ‘सुन्तलाले किसानलाई राम्रै आम्दानी दिइरहेको थियो’ उनले थपे, ‘अहिले धमाधम सुन्तला मासिन थाल्यो ।’

      फिदिम नगरपालिका २ र ५ ढालिएको सुन्तलाका रुख । जहाँ १२८ सुन्तलाका बोट मासिएका छन् ।

जिल्लाकै उत्कृट सुन्तला किसानका रुपमा चिनिएका अर्का कृषक दिवाकर ढुङ्गानाले भने सुन्तलाको बोट मरेपछि बगानमा रहेका ६० वटा बोट एकैसाथ काटेका छन् । उनको बगानमा बाँकी १० बोटमा पनि रोग देखिन थालेको सुनाउँदै उनी गुनासो पोछन्, ‘अब सुन्तलाका बिरुवामा नलगाउने निर्णयमा पुगेको छु ।’ उनका अनुसार समयमै पानी नपर्नु तथा तापक्रम नमिलेका कारणले पनि सुन्तला मासिँदै गएको हुन सक्छ ।

पाँचथर जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र फिदिम नगरपालिका, फाल्गुनन्द्र गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, कुम्मायक गाउँपालिका, हिलिहाङ गाउँपालिकालगायत हुन् । ती सबै क्षेत्रमा सुन्तलाको उत्पादनमा ह्र्रास आएको छ । दुखको कुरा त के भने यो जिल्लामा सुन्तला उत्पादनका विज्ञ तथा कृषि प्राविधिक नै छैनन् ।

‘अदुवा, अम्लिसो, कागतीका विज्ञ छन् तर सुन्तलाका छैनन्’, कृषक दिवाकर ढुङ्गाना गुनासो पोख्छन्, ‘सुन्तलाको पकेट क्षेत्रमा विज्ञ तथा कृषि प्राविधिकलाई सरकारले खटाउन किन सकेन ?’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी नरहरि निरौलाका अनुसार कृषकहरुमा सुन्तलाको प्रविधिक ज्ञानको कमिले यस्तो समस्या निम्तिएको हो ।

उनले सुन्तला खेती गरिएको क्षेत्र आसपास खनजोत तथा रासायनिक बिषादीको प्रयोग गरेकाले सुन्तला मासिएको हुन सक्ने तथा मैसमका कारण यस्तो समस्या देखापरेको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *