Sajhamanch Archive

जिल्ला बचत संघको साधारणसभामा नै सहकारी प्रशिक्षण !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by .

मेचीनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको सातौं वार्षिक साधारणसभा आज पुस ३० गते काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्लाका १४७ वटा साकोसहरु सदस्य रहेको संघको स्थापना २०६८ साल साउन २२ गते भएको हो ।

बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । उद्घाटन मन्तब्यमा पोखरेलले सहकारी संघ–संस्थाहरुले सामाजिकरुपमा पनि आफूलाई स्थापित गर्नुपर्ने बताउँदै कुनै घरको बरण्डामा संस्थाको साइनबोर्ड झुण्ड्याउँदैमा त्यो सहकारी नहुने जिकिर गरे ।

सहकारीबाट कर्जा लिएर सदस्यहरुले सो रकम के प्रयोजनमा खर्च गर्छन् भन्ने कुराको समेत संस्थाले अनुगमन गर्नुपर्ने सुझाउँदै नेफ्स्कोनका कोषाध्यक्ष पोखरेलले संस्थाले लगानी गरेको ऋणलाई उत्पादनसँग जोडेर सदस्यलाई उद्यमशील बनाउन पर्ने बताए ।

सहकारी संघहरु एवम् विषयगत संघहरुले आफ्नो कार्यक्षेत्र भित्रका मातहत संस्थाहरुको नियमन र नियन्त्रण गर्ने अधिकार पनि राख्नसक्ने सहकारी ऐनको प्रावधान स्मरण गराउँदै उनले सुशासन सिकाउनु पर्ने अभिभावक नै गैर जिम्मेवार बन्न नहुने बताए ।

साधारणसभाको उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरको स्थानीय सहकारी ऐन माघभित्र जारी हुने विश्वास दिलाए । ‘सहकारी ऐन ड्राफ्ट भइसकेको छ, नगरपरिषद मार्फत यही माघभरमा पास गराउँछौं’ नगरप्रमुख आचार्यले भने ।

आधुनिक सहकारी अभियानमा अवसरसँगै चुनौतीहरु पनि रहेकाले यसको समुचित व्यवस्थापनमा सहकारीका छाता संस्थाहरुसँग नगरपालिका हातेमालो गर्न इच्छुक रहेको नगरप्रमुख आचार्यको भनाई छ ।

संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित साधारणसभामा संघको विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अधिकारीले चालूवर्ष शेयर पूँजी ५ लाख रुपैयाँ वृद्धि गरी १५ लाख रुपैयाँ बनाउने, निक्षेपमा ५० लाख वृद्धि गरी एक करोड हाराहारी पुर्याउने, ७० लाख ५० हजार रपैयाँ ऋण लगानी गर्ने एवम् १० लाख रुपैयाँको बास्केट फण्ड सिर्जना लर्गे लक्ष्यहरु प्रस्तुत गरे ।

सोही अवसरमा अध्यक्ष अधिकारीले सहकारी व्यवस्थापनमा सहयोगी हुने गरी प्रशिक्षण पनि दिए । उनको प्रशिक्षणमा सहकारी नीति, सहकारी के हो ? किन ? कसका लागि ? यसका सम्भावना एवम् चुनौतीहरु के कस्ता छन् भन्ने विषय समेटिएको करिब आधा घण्टाको प्रस्तुति थियो ।

साधारणसभाको बन्द सत्रमा कोषाध्यक्षको प्रतिवेदन चन्द्राकुमारी भट्टराईले तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक भूपेश मर्डीले बाचन गरेका थिए । साधारणसभामा विभिन्न संस्थाबाट सहभागी प्रतिनिधिहरुले सञ्चालकहरुलाई प्रश्न राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *