मेचे समुदायमा पहिलो विद्रोही छोरी
Published:
by .मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर काजकिरिया गरेकी छिन् ।
मेचे समुदायमा बाबुआमाको निधनपछि छोरीले काजकिरिया गर्न कोरामा बस्नु हुँदैन भन्ने मान्यता अझै कायम छ । तर यो परम्परालाई तोड्दै एक किशोरी अहिले आमाको काजकिरिया गर्न छोरा सरह कोरा ढिकुरा गरिरहेकी छन् । आमा बावुको निधनपछि छोरीले कोरो ढिकुरो गर्नु हुँदैन भन्ने समुदायको परम्परागत संस्कारलाई तोड्दै झापाको मेचीनगर ११ की १२ वर्षीया सविना मेचे आमाको काजकिरियामा बसेकी हुन् । आफ्नो जातीय समुदायका कतिपय मानिसको विरोधका बावजुद पनि उनी आमाको काजकिरियामा जुटेकी हुन् ।
स्थानीय हडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकी ३९ वर्षीया शर्मिला मेचेको बिहीबार निधन भएपछि छोरी सविना आफ्नो समुदायको पुरानो संस्कारलाई तोड्दै छोराले गर्ने अनुसारको काजकिरियामा बसेकी हुन् । सविना सेतो वस्त्र लगाएर काममा बसेकी छन् ।
शर्मिला लामो समयदेखि मुटुको रोगबाट ग्रसित थिइन् । साइकलमा हालेरै भएपनि आमालाई सविनाले उपचारका लागि लैजाने गरेको उनका छिमेकीहरु बताउँछन् । दशक अघिदेखि शर्मिलाका श्रीमान वेपत्ता छन् । श्रीमान वेपत्ता भएपनि गिटी कुटेर र बालुवा चालेरै भएपनि शर्मिलाले छोरी सविनाको हेरचाह र पढाई खर्च जुटाउँदै आएकी थिइन् ।
मेचे सिवियारी आफत केन्द्रीय कार्यालयको सल्लाह बमोजिम सविनालाई आमाको काज किरियामा राखेको सल्लाहकार सन्तोष मेचेले दावी गरेका छन् । मेचे समुदायमा चेलीले कोरा बस्नु हुँदैन भन्ने मान्यतालाई तोडेरै लैजानुपर्छ भनेर सविनालाई आमाको काममा राखेको उनको भनाई छ ।
‘संस्कार मात्र भनेर हुँदैन, छोरा नहुनेका बावुआमाको निधन भयो भने कसले कोरा बार्ने, काजकिरिया कसले गर्ने ?’ आफतका सल्लाहकार सन्तोषले थपे, ‘यसकारण पनि अब हिजोसम्म यो परम्परा थिएन, अब परम्परा भनेर मात्र नहुँदो रहेछ तोडेर जानुपर्छ ।’
‘शुरुमा सविनालाई काजकिरियामा बस्न दिनु हुँदैन भन्ने विरोधका स्वर पनि प्रश्स्त सुनिएको थियो’ मेचीनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्षसमेत रहेका सन्तोषले भने ‘हाम्रो समुदायमा यस्तो संस्कार त छैन । तर बाध्य भएपछि कहिले काहीँ संस्कार पनि तोड्नु पर्दाेरहेछ ।’
उनका अनुसार स्वदेशमा होस् या विदेशमा मेचे समुदायमा बावुआमाको निधन पश्चात छोरीले काजकिरियामा बसेको यो पहिलो घटना हो ।
आर्थिक अवस्था ज्यादै न्यून भएको मेचे परिवारमा सविना बाहेक अरु कोही पनि छैनन । यसकारण पनि सविनाले आमाको काजकिरिया गर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । शर्मिलाको अन्त्येष्टीसमेत छरछिमेकी र मेचे समाजको पहलमा भएको थियो । आफ्नी आमाको चितामा दागबत्तीसमेत सविनाले नै दिइन् । मेचे समुदायमा आमाबाबुको काजकिरिया गर्दा १३ दिनसम्म सेतो कपडा लगाएर काम गर्नुपर्ने भए पनि सविना नाबालक भएकाले ७ दिनमा आमाको काम सक्ने व्यवस्था मिलाइएको वडाध्यक्ष मेचेले जानकारी दिए ।
बलभद्र माद्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सविना पढाइमा निक्कै अब्बल छिन्, अब उनको लालनपालन र शिक्षामा कसले सहयोग गर्छ भन्ने चिन्ता थपिएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले शुक्रबार सविनाको घरमै पुगेर स्वर्गीय शर्मिलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सविनासँग समवेदना व्यक्त गरेकी छन् ।
उपप्रमुख उप्रेतीले भनिन् ‘सविना मेचीनगरकै चेली हुन्, पढाईमा समेत अब्बल रहिछन्, बावु वेपत्ता आमाको पनि निधन भयो । अब उनलाई यो कामबाट बाहिर निकाल्ने र उनको लालन पालन तथा पढाई लगायतको जिम्मा नगरका उद्योगी, व्यवसायी लगायत सबैको काँधमा छ । नगरपालिकामा समेत छलफल गरेर उनका लागि केही गर्न सकिन्छ, हामी सक्दो सहयोग गर्ने छौं ।’
मेचे समुदायमा छोराले मात्र आमा बावुको काजकिरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै छोरी काजकिरियामा बस्नुले छोरा नभएका अन्यलाई समेत सविनाले ढोका खोलिदिएको मेचे समुदायका अगुवाहरुको भनाई छ ।
Comments