Sajhamanch Archive

प्रधानमन्त्री ओली माघ १७ गते झापामा कहाँ कहाँ पुग्छन् ?

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

दमक । आगामी माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओली आउने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्रसमेत परिचालित भएको जनाइएको छ ।

बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएपछि यसप्रति सुरक्षा निकायले पनि चासो देखाएको हो । सोही क्रममा मंगलबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भिमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेललगायत सुरक्षा अधिकारीले कार्यक्रमस्थल दमक ९ को सरस्वती माविको प्राङ्गण अवलोकन गरेका छन् ।

सोक्रममा उनीहरुले महोत्सव तयारीको अवस्था, उद्घाटन कार्यक्रमको तालिका लगायतका बारेमा जानकारी लिएका थिए । उनीहरुलाई नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा बालमहोत्सव मूल समारोह समितिका संयोजक गीता अधिकारीलगायतले हालसम्मको तयारीको अवस्था, उद्घाटन कार्यक्रम लगायतका विषयमा जानकारी गराएका थिए । दमक नगरपालिकाको आयोजनामा हुने महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली माघ १७ गते बिहान साढे ११ बजे दमक आइपुग्ने छन् । सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजित बाल महोत्सवको उद्घाटन पछि उनी कमल गाउँपालिका ३ केरखास्थित शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने छन् । त्यहाँ उनी १ देखि २ बजेसम्म रहने छन् ।

प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे भद्रपुरस्थित मेची नदीमा निर्मित नयाँ पूलको उद्घाटन गर्ने कार्यतालिका छ । सोही दिन साँझ ५ बजे भद्रपुर विमानस्थलबाट हुने रात्रीकालिन उडानको उद्घाटन गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *