Sajhamanch Archive

प्रधानमन्त्री ओलीले सम्झिए शहीद

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको जिकिर गरेका छन् ।

राणा शासन विरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानीले नेपालको प्राजातान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको भनेका छन् ।

माघ १६ गते पर्ने शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् ।

“पुस्तौंदेखि अनवरतरुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।”

दशकौं अघि क्रान्ती वीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरेको ठहरिने पनि लेखेका छन् ।

“यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जली अर्पण गर्न सबैमा आव्हान गर्दछु” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *