Sajhamanch Archive

बाँझै खेतबारी सुनसान ठाउँ, हाम्रो नेपालका घरगाउँ

Published: in विचार/ब्लग, by .

एउटा अधबैँसे व्यक्ति बिहान खाना खाएर खेतमा काम गर्ने खेताला खोज्न गाउँतिर लाग्छ । दिनहुँजसो त्यही घरको जवान छोरो पनि खाना खाएर शैक्षिक योग्यताका प्रमाणपत्रहरु बोकेर काम खोज्न शहर बजार पस्छ । बेलुका दुवैजना रित्तोहात घर फर्कन्छन् । न बावुले खेतमा काम गराउने श्रमिक पाउँछन् न त छोराले जागिर वा काम नै पाउँछ । हिजो आज गाउँघरतिर नियमितजसो देखिने दृश्य यस्तै छन् । पढे लेखेका मानिसले कृषिकर्म, खेतीपातीको काम गर्नुहुँदैन भन्ने मान्यता कहिलेदेखि आयो थाहा छैन । तर यही कारणले हाम्रो देश पछाडि परेको पक्कै हो । आज आफूलाई शिक्षित ठान्ने युवालाई कृषिकर्म गर्न लाज हुन्छ । आमाबुवा पनि छोराछोरीलाई जागिर खाओस् भन्ने चाहन्छन् ।

यसरी हिजोआज के पहाड, के मेधेश जताततै उर्वर खेतीयोग्य जमिन बाँझैछन् । पहाड तीतेपानी कालो झार बनमाराले खेतबारी जम्मै ढाकिसक्यो । मुरी मुरी धान फल्ने, कोदो, मकै र गहुँ प्रशस्त उब्जनी हुने बारीका फाँट, टाहार सबै बाँझै छन् । खेतबारी जंगल भइसक्यो । त्यहाँका बसोबासी मानिसहरु सबै तराई झरे । तराई नझर्ने युवा पनि गाउँमा छैनन् । सबै विदेशी मोहले तानिएर अरेबियन मुलुकमा ज्यामी बन्न पुगेका छन् ।

५० डिग्रीभन्दा तातो मरुभूमिमा रगत पसिना बगाइरहेका छन् गरीब र निन्न वर्गीय परिवारका छोराछोरीहरु । उता अलि पैसावालका छोराछोरीले युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान पढ्न जाने निहुँ पारेर विदेशिएका छन् । के गर्नु स्वदेशमा कामै छैन भन्दै तल्लोस्तरको निकृष्ट कर्म र सरसफाई कामदार भएर नेपाली पढेलेखेका युवा पनि विदेशमा रमाएका छन् । चटक्कै आफ्नो देश, आमा बुवालाई माया मारेर ।

काम नै केही छैन भन्दै उर्वर खेतीयोग्य जमिनमा सुन फलाउन छाडेर विदेशीको नोकर बन्न लर्केताँत लागेर विमानस्थलबाट विदेसिँदैछन् हाम्रा युवा जनशक्ति । म दुविधामा पर्छु । यिनले स्वदेशमा काम नगरेका कि काम नै नपाएका हुन् ? कृषिकर्म, खेतीपाती त कुनै काम नै होइन ठान्छन् उनीहरु । पहिले पहिले खेतीपाती र पशुपालनबाटै एक दर्जन छोराछोरी हुर्काइ बढाई गरी सुखसँग रमाउँथे । त्यही खेतीपातीबाट शहर बजारमा घर, घडेरी पनि जोडेका थिए बावु बाजेले । धान, गहुँ, मकै, अदुवा, अम्लिसो बेचेर छोराछोरीको विवाह गरिदिएका थिए ।

सिङ्गो परिवारको लवाई खुवाई पढाई लेखाई स्वास्थ उपचारमा पुग्ने पैसा खेतीपातीबाटै जुट्थ्यो । आज खेतीबाट पोसाउँदैन, फाइदै छनै भन्ने बहानामा युवाले हलो कोदालो छुनै मान्दैनन् । कृषिप्रधान हाम्रो देशमा चामल, गहुँको पीठो, तरकारी, फलफूल, माछामासु सबै भारतको भरपर्नु पर्छ । कृषिजन्य उत्पादन र खाद्यान्न आयातमा मात्रै अर्बौं रुपैयाँ विदेसिन्छ हाम्रो । यो सबै बुझेर पनि बुझ पचाउँछन् ।

गाउँमा जन्ती, मलामी पाइन छाडे । अभरपाभरमा गाह्रो अप्ठ्यारो काम गर्ने, आँटी बलिया युवायुवती गाउँबाट निख्रिइसके । बृद्ध बाबुआमा र स–साना केटाकेटी मात्र छन् । सबैजसो घरमा बुढाबुढीहरु एक्ला एक्लै घर रुँघ्दै छोराछोरी आउने बाटो कुर्दै आँशु पिएर बाँचिरहेका छन् । अर्कातिर उनका छोरा नाति खाडी राष्ट्रमा पैसामा श्रम बेच्दै रगत पसिना खर्चेर विदेश सिंगार्दैछन् । फेरि धेरै युवक युवती कुहिरेको देशमा नोकर र दास बनेर यही हो स्वर्ग भनेर आत्मरातिमा रमाइरहेका छन् ।

मेरो देश आज कहाँ पुग्यो । गाउँघर सुनसान छ । पुरानो घर लड्दै छन् । टेका लाउने कोही छैनन् । छानो छाउने, बारी खनेर सागपात लगाउनेसम्म जवान गाउँमा छैनन् । पढेकाले शारीरिक श्रम गर्नु हुन्न भन्नेहरु अझ बढ्दैछन् । तिनै युवा विदेशमा शौचालय सरसफाई र भाँडा माझ्न नोकर बस्न तयार छन् तर आफ्नो देशको बाँझो खेतमा पसिना सिंचित गर्न तयार छैनन् । अनि देश बनेन भनेर कुर्लनुको कुनै अर्थ छैन । हाम्रा मान्छेबाट विश्वका धेरै देशहरु स्वर्ग बन्यो तर आफ्नै देश नर्क बन्दैछ ।

खै कस्तो बिडम्वना, हाम्रो नियति ! तीस लाखा युवा विदेश सिंगार्दैछन्, रगत पसिना बेचेर यहाँ भौतिक पूर्वाधारको विकास र सडक बाटो पूल बनाउने बजेट भइभई पनि श्रमिक कामदारको अभावमा समयमा योजना कार्यक्रम सकिँदैनन् । कसलाई के भनुँ, नेपालको तीन तहको सरकारलाई भनौं या ती विदेश सिंगार्दै गरेको लाखौं नेपालको श्रम शक्तिलाई ? अब देश बनाउन युवाको योगदानको खाँचो छ, सरकारले तिम्रा आवश्यकता सम्वोधन गरिदेओस् भन्ने मेरो कामना हो ।

(लेखक प्रसाईं मनकामना क्याम्पसका सहायक प्रमुख हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *