दोमुखाको पर्यटकीय विकासका लागि अन्तरक्रिया
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका र इलाम जिल्लाको माई नगरपालिकाको संगममा पर्ने पर्यटकीय क्षेत्र दोमुखाको पर्यटकीय क्षेत्र विकासका लागि दुवै नगरको अनुमतिमा संयुक्त राज्य अमेरिकामा रहेको सांग्रिला आइएनसीले विदेशी लगानी भित्राउने भएको छ ।
पूर्वका पर्यटकीय क्षेत्रहरु मध्ये सम्भावना रहेको झापा र इलामको सीमानामा पर्ने दोमुखा पर्यटकीय क्षेत्र निर्माणको पर्खाइमा रहेको छ । पहाड र तराइको संगमस्थल दोमुखा प्राकृतिक रुपमा पूर्वकै एउटा नमूना र दृश्यावलोकनका लागि उपयोगी मानिन्छ । गर्मी समयमा पनि शितल महसुस हुने तथा यातायातको पहुँच भएकोले यसको रौनकता थप गर्न उर्जा मिलेको बताइएको छ ।
शिवसताक्षी नगरपालिकाले वडा नं. १० को माइधारमा आज आयोजना गरेएको दोमुखा पर्यटकीय क्षेत्र विकास सम्बन्धी छलफलमा संयुक्त राज्य अमेरिकामा नेपालीहरुको सहभागिता रहेको साँङ्ग्रीला आइएनसी नामक संस्थाले दोमुखा क्षेत्रका संभावनाहरु प्रस्तुत गरेको छ ।
संस्थाले इलामको माइ नगरपालिका र झापाको शिवसताक्षी नगरपालिकाको आयश्रोत बृद्धि गर्दै विभिन्न गतिविधि सञ्चालनका लागि दुवै नगरका जनप्रतिनिधि र कर्मचारीसँगको छलफल गरेको हो । दोमुखा क्षेत्रको विकासमा साँङ्ग्रीलाले देखाएको चासोमा इलाम र झापाका दुवै नगरहरु सकारात्मक हुनसके यस क्षेत्रले इलाम र झापाको मात्र होइन प्रदेश १ कै नमूना पर्यटीय क्षेत्र बन्ने सांग्रीला आइएनसीका प्रमुख सुजन सिवाकोटी बताउँछन् ।
राज्यले २३ करोड लगानीमा दोमुखाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढेको छ । यस आर्थिक वर्षमा शिवसताक्षी गगरपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ गरी एक करोडको बजेट दोमुखा पर्यटकीय क्षेत्र निर्माणका लागि विनियोजन भएको छ । दोमुखा पर्यटकीय विकास समितिका अध्यक्ष धनप्रसाद लावती भन्छन्, ‘वर्षमा एक करोडका दरले बजेट आउँदा यसको विकास गर्न ३२ वर्ष लाग्ने भएकाले कुनै पनि प्रतिफल दिँदैन ।’
सो अवसरमा इलामको माई नगरपालिकाका उपप्रमुख विष्णुमाया रिमालले सर्वपक्षीय भेलामा उपस्थित वौद्धिक वर्गको सल्लाह र सुझावबाट नै देमुखाको पर्यटकीय क्षेत्र विकाका योजनाहरु सञ्चालन हुने बताइन् ।
दोमुखालाई पर्यटकीय क्षेत्रको विकासका लागि इलामको माई नगरपालिका र शिवसताक्षी नगरपालिका दुवैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले आवश्यकता औंल्याए । भन्छन्, दुवै नगरको चासो र लगानी रहेपछि यहाँबाट आउने आयमा पनि दुवै नगरको हैसियत पनि बराब नै रहन्छ ।
अमेरिकाबाट सांग्रीला आइएनसीका प्रतिनिधि दिनेश सिवाकोटीले स्काइप मार्फत दुवै नगरका जनप्रतिनिधि र कर्मचारीका बीचमा प्रस्तुत गरेको भिजनमा अमेरिका कै प्रविधि अपनाइने तथा यहाँ उपलब्ध नहुने सामग्री पनि अमेरिकाबाटै ल्याइने बताए ।
इन्जिनियर पनि अमेरिका कै रहने जनाइएको छ । पर्यटकीय विकासका काम गुणस्तरीय तथा समयमै सम्पन्न हुने र यस क्षेत्रको आर्थिक उपलब्धीको सम्भावना बलियो हुने दावी गरिएको छ ।
Comments