Sajhamanch Archive

‘अनेरास्ववियु रचनात्मक ढंगले स्ववियु निर्वाचनमा जुटेको छ’

Published: in अन्तर्वार्ता, by .

त्रिभुवन विश्वविद्यालयका आंगिक एवम् कतिपय सम्बन्धनप्राप्त क्याम्पसहरुमा यो वर्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने तयारी भइरहेको छ । दुई वर्ष पहिले निर्वाचित कार्यसमितिको पनि समयावधि यही फागुनमा सकिदै छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेती स्ववियु निर्वाचनको मिति चाँडै तोकिने बताउँछन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा चाहिँ आगामी फागुन महिनाभित्रै स्ववियु निर्वाचन गरिसक्ने मानसिकतामा पदाधिकारीहरु रहेको बताउँछन् । दुवैजनाका कुराले स्ववियु निर्वाचन नजिकै छ भन्ने संकेत गर्दछ । पदाधिकारीहरुबाट प्राप्त यस्ता संकेतले विद्यार्थीहरुमा चुनावी तरङ्ग फैलिएको छ । यही सेरोफेरोमा साझामञ्च डटकमका लागि सरोज पौडेलले नेकपाको विद्यार्थी संगठनका अनेरास्ववियु भूगोल  कमिटीका सचिव  रोशन लामासँग कुराकानी गरेका छन् ।

स्ववियु चुनाव तोकिएकै समयमा हुन्छ ? तपाईंलाई के लाग्छ ?
हामी सधै विद्यार्थीको पक्षमा र विद्यार्थीहरुको समस्या समाधान गर्दै शैक्षिक संस्थाको अवस्था सुधार गर्न निरन्तर क्याम्पसमा छौं । त्यसकारणले त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार यो वर्ष फाल्गुण मै स्ववियू निर्वाचन हुने निश्चित छ । हामी लोकतन्त्रमा विश्वास गर्ने विद्यार्थी संगठनले यो निर्वाचन भब्य रुपमा गराउन सबै क्याम्पसमा हाम्रो संगठन रचनात्मक ढंगले स्ववियुको तयारीमा जुटेको छ ।

पार्टी एकता भयो तर विद्याथी संगठन एकता भएको छैन । चुनाव पनि आउन लाग्यो, अब कहिले गर्नुहुन्छ ?
नेपालका कम्युनिष्ट पार्टीहरु जनताको मुक्तिका लागि एवम् समृद्ध मुलुक बनाउन विभिन्न ध्रुवहरुमा विभाजित भएर संघर्ष गर्दै आइरएका थिए, छन् । नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएसँगै नेपाल भित्रमात्र होइन, सारा विश्वको कम्युनिष्ट आन्दोलनको लागि महत्वपूर्ण सन्देश दिन सफल भएको छ । दुई पार्टी एक भएपछि विद्यार्थी संगठनहरु एक हुने प्रक्रियामा छन् । सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्नको लागि नेकपाको केन्द्र, जिल्ला, स्थानीय तह पार्टी कमिटीहरु र जनसंगठनहरुको पनि तुरुन्तै प्राविधिक र भावनात्मक एकता हुन जरुरी छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच पनि एकता चाँडै हुनेछ । सम्भवतः स्ववियु चुनाव अगावै एकता भइसक्नेछ ।

एकता नगरी पनि सहयात्रा हुन सक्छ कि ?
दुई कम्युनिष्ट पार्टीहरु एक भएसँगै जनवर्गीय संगठनहरु पनि अवस्य एक हुन्छन् नै । हिजो पनि अनेरास्ववियु र अखिल क्रान्तिकारी नाममात्र फरक थियो । हामी विचार र विद्यार्थीको समस्या समाधान गर्न हामी एक ठाउँमा थियौं । स्ववियु निर्वाचन अगावै संगठन एक भइसक्छ भन्ने हाम्रो अपेक्षा हो, नभए पनि हामी भावनात्मक रुपमा एक भइसकेका छौं । भर्खरै पोखरा इन्जीनियरिङ कलेजको विद्यार्थी काउन्सीलको चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुतm प्यानलले प्राप्त गरेको विजयबाट पनि प्रष्ट हुन्छ । त्यसो हुँदा हामी सँगसँगै छौं, सहयात्रा गर्न कुनै गाह्रो छैन ।

तपाईं सत्तारुढ दलको विद्यार्थी संगठनको नेता, संगठनका अबका मुद्दा के हुनेछन् ?
अबको हाम्रो मुद्दा नेपालको संविधानले दिएको कक्षा १० सम्म निःशुल्क र अनिवार्य शिक्षा तथा कक्षा १२ सम्म निशुल्क शिक्षाका विषयमा केन्द्रित हुनेछन् । नेपाली जनताका लागि प्रदान गरिएको अधिकार प्राप्तीका कार्यान्वयन गर्न, शैक्षिक वातावरण सुधार गर्न, शिक्षालाई श्रमसँग जोड्न र श्रमलाई उत्पादनसँग जोडेर हामीसँग भएको श्रोत र साधनलाई अधिकतम परिचालन गर्ने र शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहबाट नै खबरदारी र दबाब दिने काममा हामी लाग्नेछौं, लागिरहेका छौं ।

झापामा हिजोको अनेरास्ववियुको विरासत फर्काउन सक्नु हुन्छ ?
अवश्य, यो झापाली कम्युनिष्ट भूमिमा हिजोको विरासत फर्किन्छ । हामी विश्वस्त छौं । त्यसका लागि हामीले इतिहास सम्झेर गर्वमात्र गरेका छैनौं, वर्तमानलाई पनि अझ ठूलो इतिहास बनाउने तयारीमा छौं । हामीले झापाको सबै शैक्षिक संस्थामा हाम्रो संगठनले विद्यार्थीको पक्षमा देखिएका समस्यालाई समाधान गरिरहेका छौं । जुन कुरा हाम्रो संगठनको रचनात्मक गतिविधिले प्रष्ट पारिसकेको छ । त्यसकारण पनि यो भूमिमा सचेत वर्गका विद्यार्थीहरुको स्ववियु चुनावले हाम्रो विरासत फर्काउने हाम्रो विश्वास छ ।

अन्त्यमा, विद्यार्थी आन्दोलनलाई कसरी सम्बोधन गर्नु हुन्छ ?
अबको विद्यार्थी आन्दोलन भनेको विशुद्ध शैक्षिक क्षेत्रमा मात्रै हुनेछ । हिजो विद्यार्थी आन्दोलन राज्य व्यवस्थाको विरुद्ध लड्नु पर्यो । जनतासँग जोडिएको जस्तोसुकै समस्याहरु मूल्य वृद्धि, भ्रष्टाचार, भारतीय विस्तारवाद आदिजस्ता कुराहरुको लागि लड्नु पर्यो । तर आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा अगाडि बढिरहेको छ । अब विद्यार्थी आन्दोलन आफ्नो वर्गीय हितका लागि बढी केन्द्रित हुन जरुरी छ । विद्यार्थी आन्दोलनमा सडकको बाघ भनेर चिनिने अनेरास्ववियु ढुंगामुढा, चक्काजाम, बन्द हड्तालजस्ता गतिविधि जनताको निम्ति मुलुकको निम्ति धेरै भयो, अब त्यही आन्दोलन रचनात्मक हुनेछ । अब विद्यार्थी आन्दोलनले शिक्षालाई राष्ट्रियकरण गरी सबै नेपालीका लागि समान शिक्षा प्रदान गर्ने कुरामा लाग्दै प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *