प्रचारको अभावमा बुधबारेको तिरुपति दिव्यघाम ओझेलमा
Published: (Updated: )
by .बुधबारे । बुद्धशान्ति गाउँपालिका १ मा रहेको तिरुपति दिव्यघाम आवश्यक प्रचार–प्रसार हुननसक्दा ओझेलमा परेको छ । वि.स. २०७० सालमा दक्षिण भारतको चेन्नाईमा रहेको तिरुपतिबाट सवारी गराई भव्य महायज्ञद्वारा प्रतिस्थापन गरिएको तिरुपति दिव्यधामको महत्व, प्रभावकारिताका विषयमा सार्वजनिक तथा प्रचार गर्न नसक्दा ओझेलमा परिरहेको स्वयम् धामका सञ्चालनहरुले बताएका छन् ।
‘प्रदेश १ कै एकमात्र तिरुपति दिव्यधाम यहाँ छ भनेर सार्वजनिक गर्न नसक्दा ओझेलमा परिरहेको छ’ मन्दिरका कार्यसमिति सदस्य दुर्गा आचार्यले हालै आयोजित पत्रकार सम्मेलनमा पनि उद्घोष गरेका थिए । लक्ष्मीनारायण मन्दिर (तिरुपति दिव्यधाम) प्रदेश १ कै एकमात्र दिव्यधाम रहेको बताउँदै मन्दिरका अध्यक्ष ज्ञाननाथ पौड्यालले यसको प्रचार–प्रसारमा जुट्न पत्रकार, बुद्धिजिवी, धार्मिक व्यक्तित्वहरुलाई आग्रह गरेका छन् ।
भारतको चेन्नईमा तिरुपतिको दर्शनका लागि नेपाली धर्मानुरागी सज्जन बाक्लो रुपमा जाने गरेका छन् । तिरुपतिको दर्शनका लागि टाढा जानुपर्ने बाध्यताको हल गर्न झापामा तिरुपति दिव्यधाम स्थापना गरिएको बताइएको छ ।
यसैबीच लक्ष्मीनारायण मन्दिर (तिरुपति दिव्यधाम)–को ५९औं वार्षिकोत्सव एवम् तिरुपति बेङ्कटेशको पाँचौ ब्रह्मोत्सवको पावन अवसरमा यही माघ २६ गतेदेखि फाल्गुन ६ गतेसम्म राष्ट्रशान्ति लागि विराट धान्याचल श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ गरिने भएको छ ।
अनन्त विभूषित उभय वेदान्ताचार्य श्री १००८ स्वामी डा. पुरुषोत्तमाचार्य (नेपाल)का मुखारवृन्दबाट कथा प्रवचन एवम् आचार्य नारायण प्रपन्न अत्रीको उपवाचकत्वमा पुराणको आयोजना गरिएको पुराण मूल आयोजक समितिका अध्यक्ष तथा मन्दिर समितिका अध्यक्ष पौड्यालले बताएका छन् ।
यो पुराणले यसको महत्व र प्रचारमा ठूलो सहयोग मिल्ने अपेक्षा लिइएको बताएका छन् । प्रदेश १ कै धार्मिक गन्तव्य रहेकाले यसको विकास र प्रचारमा सबैको साथ आवश्यक रहेको उनले बताएका छन् । समितिका सचिव रामलाल कोइरालाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पुराणको औचित्य र तयारीका विषयमा सदस्य दुर्गा आचार्यले सबैलाई जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा मठाधिस १००८ स्वामी खगेन्द्राचार्य दुलालसहित विभिन्न धार्मिक क्षेत्रका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । पुराणलाई भव्य बनाउन विभिन्न १० वटा उपसमिति बनाइएको छ भने तयारी तिव्र पारिएको छ ।
एक विगाहा ७ कठ्ठा जमिन रहेको सो मन्दिरमा मल्टिपर्पाेजका लागि सुविधायुक्त भवन निर्माण गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष मधुसुदन पौड्यालले जनाएका छन् । निर्माणको लक्ष्य राखिएको सुविधा सम्पन्न भवनमा सभाहल, ३० जनासम्म बस्न मिल्ने छात्रबास, शिक्षक आवास, अतिथि कक्ष, भण्डारण कक्ष, शीषमहल, पुस्तकालय, स्नान कक्ष लगायतका कुरा निर्माण गरिने छ ।
त्यस्तै गरुढ स्तम्भ, बगैंचा, पोखरी, पार्किङ स्थल, खेलमैदान, कम्पाउण्डवाल, प्रवेशद्वार पनि निर्माण गरिने योजना राखिएको छ । सो मन्दिरका मठाधिश आचार्य स्वामी १००८ खगेन्द्राचार्य दुलाल रहेका छन् भने मूल अर्चक लक्ष्मी प्रपन्न बराल, सहायक अर्चक विष्णु प्रपन्न खतिवडा, राम खतिवडा तथा पुष्पबाटिका देवका खतिवडा रहेका छन् ।
समितिको उपाध्यक्षमा विष्णु बाँस्तोला, सहसचिवमा केदार निरौला र सदस्यहरुमा कमल खतिवडा, फेडेन्द्र ढुंगाना, सोमनाथ पोखरेल, जयप्रसाद रसाइली, श्रीधर नेपाल, भागिरथा खतिवडा, दुर्गा खतिवडा, मुना खनाल लगायत रहेका छन् ।
Comments