‘वहुवर्षे योजना रोकिनु सरकारको विकास विरोधी चरित्र’ : कांग्रेस नेता सिटौला
Published:
by .भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा जानु वा नजानु महत्वपूर्ण नभएको भन्दै प्रतिपक्षमा बसेर पनि कांग्रेसका कार्यकर्ताहरूले जनताका अधिकार, आवश्यकता र विकास निर्माणका कुरालाई जोडदार ढंगले उठाउनु पर्ने औंल्याएका छन् ।
नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडाको आयोजना रहेको जिल्लास्तरीय कपर्दी प्रतियोगिताको आज उद्घाटन गर्दै सिटौलाले विगत सरकारले योजनावद्ध ढंगले सुरू गरेका वहुवर्षे योजना रोकेर सरकारले विकास विरोधी चरित्र देखाएको आरोप पनि लगाएका छन् ।
कांग्रेस नेता सिटौलाले आफ्नो कार्यकालमा झापाका क्षेत्र नम्बर ३ को विकासका लागि ५ अर्ब बढीका भौतिक विकासका योजना ल्याएर काम तीब्र गतिमा बढिरहेकोमा वर्तमान सरकारले निर्माण कार्य रोकेको प्रति आपत्ति जनाए । उनले विगतका सरकारका पालामा सुरू भएका आयोजना देशैभर अलपत्र पारेर काम रोकिनु विडम्बना भएको तर्क गरे ।
समृद्धिको भाषण गर्ने सरकारका प्रतिनिधिहरूले रोकिएका ती योजना जनताकै लागि भएको बुझेर काम सुचारू गर्न पूर्व उपप्रधानमन्त्री सिटौलाले माग पनि गरे । उनले जनता सम्पन्न भएमात्र देश सम्पन्न हुने चर्चा गर्दै अहिलेको कम्युनिष्ट सरकार आफ्ना कार्यकर्तालाई मात्र पोस्ने योजनामा रहेको आरोप समेत लगाए ।
प्रतियोगितामा महिला र पुरुष गरी २० टिमको सहभागिता रहेको खेल संयोजक रतिया राजवंशीले जानकारी दिए ।
Comments