Sajhamanch Archive

राप्रपाले माग्यो गोलमेच सम्मेलन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र पठाएको छ ।

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने मुख्य माग समेटिएको ज्ञापनपत्रमा २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न पनि माग गरेको छ ।

राप्रपाको कन्द्रीय कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । कार्यक्रम अन्तर्गत झापामा जिल्ला अध्यक्ष अम्वर बिष्टले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ।

राप्रपाबाट झापाका स्थानीय तहमा निर्वाचित कचनकवल गाँउपालिकाका अध्यक्ष अन्जार आलम, हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बावुराजा श्रेष्ठलागायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।

२२ बुँदे ज्ञापनपत्रमा धर्म निरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि समेटिएका छन् ।

फागुन मसान्तभित्र उक्त मागहरु पूरा नभए चैत पहिलो हप्तावबाट देशव्यापी जनसंघर्ष गर्ने राप्रपाले चेतावनी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *