कृषिमा निर्भर जनसंख्या घटाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले देशको दुई तिहाई जनसंख्या कृषि कर्ममा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको जिकिर पनि गरेका छन् । “हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ” प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले थपेका छन्, “जबरजस्त रुपमा कृषिमा काम गरिरहेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यस्तो जनशक्ति उपयोग गर्नु राम्रो हुनेछ भनिएको हो ।”
प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताउँदै “एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउँदा निर्यात गर्न सजिलो हुन्छ” पनि भनेका छन् । प्रधानमन्त्री ओलीले परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ भन्दै यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमि व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्ने औंल्याएका छन् ।
Comments