Sajhamanch Archive

शुभकामना तिमीलाई आठ मार्च !

Published: in शिक्षा, by .

कविता

यहाँ सपना देखिरहने सहरमा नारी दिवस मनाइरहँदा
कैयौँ सौर्य किरणसँगै मेरा चित्कारहरू कोठीबाट सभासम्म पुगे होलान् ।
र त, तिमी अभिनन्दित भयौ ।

भर्खरै एघार टेकेकी
मेरै साइली बैनी छाउगोठमा चिच्याइरहँदा
रगतको मूल निचोरिएको भेलसँगै
तिम्रा पुरस्कारहरू रक्तिम बने होलान् ।

क्रान्तिकारी शुभकामना तिमीलाई नारी दिवस ।

नवदुलही बनाएर बाले दलिन कटाइदिएकी मेरी माइली बैनी तेजाबसँगै दाइजोको मूल्य चुकाइरहँदा
हरेक अग्निका लप्काले तिमीलाई न्यानो बनाए होलान् ।
धन्य नारी दिवस तिमी
शुभकामना असीम तिमीलाई !

आमाको च्यातिएको फरिया र उध्रिएको चोलीमा
रङ्गोली बनाएर ऋण असुल्ने साहुको पराकाष्ठामा
बाध्यतासँगै बाका चिम्लिएका आँखाबाट तप्केका मोतीले तिम्रा दिवसका गला सजिएर होलान् ।
त्यसैले त शुभकामना छ करोडौँ

छ वर्ष नपुग्दै घरेलु बँधुवा बनेकी कान्छीलाई
के थाहा नारी दिवस !
हरेक पल आमाको सम्झनामा चिच्याउँदै छातीभित्र थुनिएको आवाज
दर्विलो चार दिवारबाट निश्रित भएन होला ।
त्यसैले त तिमीले आमाको हात ममताले समायौ होला ।

शुभकामना तिमीलाई नारी दिवस मुक्ति नै मुक्तिको ।

मनाऊ भव्यताका साथ र बुझाऊ दुनियाँलाई मुक्तिका आवादहरू
र,
गर बेमौसमी उद्धारका खेतीहरू।
म बाँचिरहन्छु तिमीबाट प्रस्फुटित कविताका तरेलीहरूमा ।
हरेक शीर्षकमा राख मलाई गर्विला सान बोकेर
अनि चिच्याऊ सभाको वाह ! वाह ! र ताली पाउन ।

नहेर फर्केर तिमी जस्तै महरूका आर्तनादमा
मनाइरहू सहरका सजिएका डबलीहरूमा नारी दिवस ।

लाखौँ शुभकामना तिमीलाई !

(हात्तीवन ललितपुर)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *