Sajhamanch Archive

व्यापारीमाथि निर्घात रुपमा कुटपिट, अपहरणमा परेको भन्दै उजुरी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

राजविराज । सप्तरीका एक व्यापारी माथि निर्घात रुपमा कुटपिट भएको छ।

अज्ञात समूहको कुटपिटबाट स्थानीय व्यापारी जियाउल हकको पिठ्युभरी निलडाम छ भने टाउकोमा समेत चोट लागेको छ।

हकले आफूमाथि अपहरणको प्रयास भएको दावी गर्दै आइतबार आफ्ना दाजु मार्फत प्रहरीकहाँ उजुरी दर्ता गरेका छन्।

हकका दाजु सम्सुल हकले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन्।

बोदे बर्साइन नगरपालिका ५ स्थित जिया फेशन सेन्टरका सञ्‍चालक जियाउल हकको अपहरण प्रयासको उजुरी परेको सप्तरी प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले सोधपुछका लागि डाकनेश्वरी नगरपालिका १ का तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डीएसपी भावेश रिमालले बताए।

प्रहरी निरीक्षक रिमालले कुटपिट मात्र भएको वा अपहरणको प्रयास समेत भएको अनुसन्धान भइरहेको बताए।

अपहरणका विषयमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी रिमालले बताए।

जियाउलले शनिबार राति बोदे बर्साइनस्थित पसलबाट मोटरसाइकल चढी डाकनेश्वरी नगरपालिका १ कबिलासा स्थित घर फर्किरहेका बेला बाटोबाटै अपहरणमा परेको दावी गरेका छन्।

बोदे बर्साइनकै रञ्जितपुर पम्प नहर आएपछि आफू चढेको स ८ प ७४७० नम्बरको मोटरसाइकल रोकी मुखमा नकाब लगाएका ८/१० जनाले अपहरण गरी भारततर्फ लैजान लागेको उनले बताए।

सबैले मुखमा नकाब लगाएकाले अपहरणकारीको पहिचान गर्न सकिएन, उनले भने, दुई महिनाअघि एक गाउँलेसँग भएको विवादका कारण अपहरणको प्रयास भएको हो।

अपहरणकारीसँग कटुवा पेस्तोल समेत रहेको र गम्छाले हात बाँधेर मोटरसाइकलको बीचमा राखी भारत विहारको लौकहीतर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि उनीहरु फरार भएको घाइते हकले बताए।

जियाउलको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *